समाज

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जोडेर पोष्ट गरेपछि निरौला पक्राउ

उदयपुर- विद्युतीय सञ्जाल अपराध (साईबर क्राईम) को आरोपमा उदयपुरका एक पत्रकार पक्राउ परेका छन्। नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रस्तावित उपहार एमएमका निर्देशक सरोज निरौला बिहीबार राति पक्राउ परेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बिहीबार विहान फोटो पोष्ट गरेका उनलाई प्रहरीको केन्द्रीय साईबर क्राईम युनिटको आदेश अनुसार साँझ नियन्त्रणमा लिएर राति नै काठमाडौं पठाइएको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए।

निरौला जिल्लाको लिमचुङबुङ गाउँपालिका २ ताम्लिछा स्थायी घर भई हाल त्रियुगा नगरपालिका ११ गाईघाट बसोबास गर्दै आएका छन् । गाईघाटको अमूर्त एफएमबाट पत्रकारिता सुरु गरेका उनी त्यसबाट अलग भई हाल प्रस्तावि उपहार एफएम सञ्चालनको तयारीमा रहेका छन् । स्थानीय उदयपुर आवाज साप्ताहिकका प्रकाशकसमेत रहेका उनको पक्राउपछि यही १५ गतेदेखि सञ्चालनमा आउने गरी एफएमको निर्माणाधिन स्टुडियोको काम अवरुद्ध भएको एफएमका अध्यक्ष विश्वराज तामाङले बताए।

तामाङका अनुसार निरौलाले भने सो फोटो आफुले पोष्ट गरेको नभई फेक आईडी प्रयोग गरेर अन्य व्यक्तिले पोष्ट गरेको दावी गरेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७५ ०७:४० शुक्रबार

फेसबुकमा राष्ट्रपति प्रधानमन्त्रीको तस्बिर जोडेर पोष्ट गरेपछि निरौला पक्राउ