समाज

जनकपुरका ‘सांस्कृतिक मियो’

पवन सिंघानीया

केही वर्षयता ‘गंगा आरती’ र ‘स्वर्गद्वार’ले जनकपुर नगरको इज्जत जोगाइदिएको छ । हरेक दिन कम्तीमा दुई–तीन वटा शव जलाइने गंगासागर पोखरीस्थित ‘स्वर्गद्वार’ अचेल फेरिएको छ । उक्त स्थानको व्यवस्थापन र सौन्दर्यीकरणले जोकोहीलाई आकर्षित गर्छ।

जनकपुर आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य  बनेको छ ‘स्वर्गद्वार’ । गर्मीयाममा स्थानीयले अबेर रातिसम्म यहाँ बसेर शीतल अनुभूति गर्छन् । साँझमा त्यहाँ नियमित ‘गंगा आरती’ हुने गर्छ, जहाँ सयौं श्रद्घालु सरिक हुन्छन्।  

जनकपुरका समाजसेवी पवन सिंघानीयाको चिन्तन र अथक मिहिनेतले ‘स्वर्गद्वार’ निर्माण सम्भव भएको हो। डेढ दशक अघिसम्म फोहोरको डंगुर रहेको यो स्थानलाई सिंघानीयाले पवित्र तीर्थस्थलको रूपमा विकास गरेका हुन् । त्यही भएर उनी नगरमा ‘सांस्कृतिक मियो’ को रूपमा चिनिन थालेका छन्।

 पुख्र्यौली पेसा र नाफामूलक कामको पर्वाह नगरी दिनरात ‘स्वर्गद्वार’ निर्माणमा खटिएका सिंघानिया समाजमा उदाहरणीय बनेका छन् ।  ‘स्वर्गद्वार’ निर्माणपछि परिवार, छिमेक, समाज र राष्ट्रिय स्तरमा पनि उनको अलग्गै पहिचान बनेको छ । सम्मान थाप्न उनलाई भ्याइनभ्याइ छ । आगन्तुक र स्थानीयले जनकपुरको वरदानको रूपमा पाएको ठाउँ हो ‘स्वर्गद्वार’।

डेढ दशक अघिसम्म फोहोरको डंगुर थुप्रिने जनकपुरको गंगासागर पोखरीस्थित घाटलाई समाजसेवी पवन सिंघानीयाले पवित्र तीर्थस्थल बनाएका छन् । उनकै पहलमा हरेक साँझ सञ्चालन हुँदै आएको ‘गंगा आरती’ले  भक्तजनलाई आकर्षित गरेको छ।

मारवाडी समुदाय नामैले उद्यमी, व्यापारी भन्ने बुझिन्छ । व्यापार–व्यवसायलाई यो समुदायको जातीय पहिचानकै रूपमा लिने गरिन्छ । तराई मधेशमा परम्परागत रुपमा व्यापार–व्यवसाय गरी जीवनयापन गर्ने २९ जातजातिलाई वैश्य समुदायको मातहतमा राखिएको छ । मारवाडी त्यही २९ मध्येको एक जात हो।

सामाजिक कार्यमा आर्थिक सहयोग गर्ने यो समुदायमा स्वभाविक सामाजिक दायित्व बुझिन्छ । शिक्षण तथा जागिरमा भने यो समुदायको उपस्थिति न्यून छ । त्यही मारवाडी समुदायभित्र एक फरक पात्रका रूपमा परिचित छन्, सिंघानिया।

५८ वर्षीय सिंघानिया पुस्तैनी सुनचाँदी व्यवसायी परिवारमा जन्मे । तीन दाजुभाइमध्ये जेठा र कान्छा दुवै  व्यवसायी छन् । हरद्वारीलाल सिंघानियाका माइला छोरा पवनले भने समाजसेवीको पहिचान बनाए । १७ वर्षअघिसम्म सिंघानिया पनि आफ्नो समुदायको घेराभित्र सीमित थिए।

त्यस बेला टोलका  एक व्यक्तिको निधन भयो । उनका बुवा बिरामी थिए । बुवाको साटो उनलाई मलामी जानुपर्ने जिम्मेवारी आइपर्यो । आफ्नो समुदायका ‘अगुवा’ तथा स्थानीयसँग उनी मलामी गए । नगरक्षेत्रमा मृतकको निधन हुँदा गंगासागर पोखरीको डिलमा दाहसंस्कार गरिने चलन छ।

पोखरीको डिलभरि झाँडी, वरिपरि फोहोरैफोहोर थियो । कुकुर र सुँगुरको हुल थियो त्यहाँ । फोहोरको डुंगुर भएको घाटमा शव दाहसंस्कार गरिँदै थियो । तीन घन्टासम्म त्यहाँ बस्दा सिंघानियाको मनमा ‘केही गर्नुपर्छ’ भन्ने योजना फुर्यो।  

उनले गंगासागर पोखरी डिलमा भेला भएका सवा सय मलामीसमक्ष नौलो प्रस्ताव राखे ।  ‘फोहोरको डंगुरबीच  
मानिसको अन्त्येष्टि गर्दा राम्रो सन्देश जाँदैन । यसलाई  सफासुग्घर बनाएर नमुना ‘स्वर्गद्वार’को निर्माणमा जुट्नुपर्छ।’

सुरुमा त धेरैले उनको कुरा पत्याएनन् ।  सहयोग पाए आफूले सोचेको योजना कार्यान्वयन गरेरै छाड्ने  उनले अठोट गरे । ‘पछि केही व्यक्तिले काम थाल्न प्रोत्साहित गरे, त्यही दिनदेखि म आफ्नो योजनामा अग्रसर भएँ,’ उनी सम्झिन्छन्। 

२०५८ साल फागुन १७ मा गंगासागर पाखरीमा फोहोरको डंगुरभित्र ‘स्वर्गद्वार’ को शिलान्यास गरियो । उनको अथक प्रयासले यो अभियान सफल भएरै छाड्यो।

‘आखिर एक दिन म पनि यही पृथ्वीमा विलीन हुनुछ, आफ्नो बाटो पनि आफैं सफा गर्नुपर्यो,’ भन्दै उनले स्वर्गद्वार निर्माणका लागि संकल्प गरेका थिए । उनको अभियान १७ वर्षमा प्रवेश गरिसकेको छ । ‘शवदाह स्थल’ अर्थात् घाटलाई स्वर्ग प्रस्थान गर्ने ‘पवित्र द्वार’ बनाउने उनको सपना थियो ।  करिब दुई करोड रुपैयाँ खर्च गरेर ‘विपनाको स्वर्ग’ बनाएरै छाडे सिंघानीयाले।

किशोरकिशोरी र युवायुवती एकाबिहानैदेखि अबेर रातिसम्म थकाइ मार्ने, साथीहरुसँग भेटघाट गर्ने स्थलका रूपमा परिचित भएको छ, स्वर्गद्वार । हरेक दिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ।

‘मलामी गएका बेला मैले नाक थुनेर तीन घन्टासम्म बस्नुपरेको थियो, त्यो दिन र आज केटाकेटी रमाइलो गर्दै सेल्फी लिइरहेको क्षण सम्झिँदा परिवर्तनमा विश्वास लागिरहेको छैन,’ उनी भन्छन्।

 स्थानीय अशोक रौनियारका अनुसार स्वर्गद्वार निर्माण कार्य सुरु गर्नु अघिसम्म अव्यवस्थित झाँडी र फोहोर थियो । अचेल त्यही बसेर पर्यटक रमाइरहेको दृश्यले खुशी लाग्ने गरेको उनले सुनाए।

स्थानीय पवन साह ‘स्वर्गद्वार’ जनकपुरको नाकको रुपमा खडा भएको सुनाउँछन् । ‘इच्छाशक्ति भएपछि सर्वसाधारण नागरिकले सिंगो जनकपुरको परिचय फेर्न सक्ने काम गर्न सक्छन् भने नेताले  अझै बढी काम गर्न सक्नुपर्ने हो,’ उनी भन्छन् । समाजमा काम गर्ने सोच र जागर भएका व्यक्तिलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्ने उनको विचार छ।

दुई करोड रुपैयाँ खर्च गरी निर्माण गरिएको ‘स्वर्गद्वार’मा सरकारी लगानी भने  शून्य छ । स्थानीयबाटै चन्दा संकलन गरी यति ठूलो योजना सफल बनाउने व्यक्तित्व हुन्, सिंघानीया । उनी बालशव व्यवस्थापनका लागि ‘स्वर्गद्वार’ पार्ट–२ निर्माण गर्ने अभियानमा जुटेका छन् । करिब ६०÷७० लाख रुपैयाँ थप व्यवस्था भए पार्ट–२ को निर्माण कार्य पूरा  हुने उनको विश्वास छ।

स्वर्गद्वार परिसरमा भूतनाथ महादेव मन्दिर, भगवान शिव र पार्वतीको भव्य आकर्षक मूर्ति, व्यवस्थित बगैंचा र सर्वसाधारणलाई बस्न पार्क निर्माण गरिएको छ । स्वर्गद्वार र यसको पार्ट–२ निर्माण कार्य सकिएपछि विद्युतीय शवदाह गृह निर्माण गर्ने सिंघानीयाको योजना छ । बदलिँदो सामाजिक संरचनाअनुसार  पर्यावरणमैत्री बनाउन विद्युतीय शवदाह गृहको आवश्यकता रहेको उनी बताउँछन्।

दुई छोरा र एक छोरीका बुवा सिंघानीया अहिले व्यापार–व्यवसायमा छैनन् । तीन दाजुभाइले पैतृक सम्पत्ति अंशबन्डा गर्दा उनको हिस्सामा परेको छ, नमस्कार होटल । कर्मचारीको भरमा चलिरहेको त्यही होटलको आम्दानीबाट गुजारा चलिरहेको छ । एक छोरा पुनामा व्यापार गर्छन् अर्को त्यहीँ बैंकमा जागिरे छन् ।  छोरी हैदरावादमा कोकाकोला कम्पनीमा कार्यरत छिन् । तीनै छोराछोरीको बिहे भइसकेको छ । सिंघानीया दम्पती ८२ वर्षीय बाबु हरद्वारीलाल सिंघानीया र ८० वर्षीया आमा जगदम्बादेवीसँगै बस्छन्।

छोराछोरी स्वाबलम्बी भइसकेपछि समाजको लागि काम गर्न सहज भएको पवन बताउँछन् । उनले जीवन ‘नाशवान’ रहेको र हरेक व्यक्तिलाई एक दिन एउटै बाटो भएर जानुपर्ने भएकाले समाजका लागि एउटा काम गर्ने अठोट लिएर अघि बढेको बताए । ‘जीवन त सबैको उस्तै हो । आएपछि एक दिन जानैपर्ने । म र मेरो परिवारलाई दुई छाक खान पुग्ने सम्पत्ति मेरा पिताजीले जोडिदिनु भएको छ । मैले धेरै कमाए पनि छोराका लागि सम्पत्ति भण्डारण गर्ने हो,’ उनले भने, ‘छोराहरू आफ्ना लागि कमाउन सक्षम भइसके । मैले समाजको लागि एउटा सानै काम भए पनि गर्नुपर्छ भन्ने दृढ इच्छाले ‘स्वर्गद्वार’ निर्माण गरेको हुँ।’

दाइ र भाइले व्यापारबाट जतिसुकै धन आर्जन गरेपनि सिंघानीयाकै नामले समाजमा चिनिन्छन् । ‘पवन सिंघानीया’ जनकपुरको हरेक उमेर समूहमा परिचित नाम हो । ‘अठोट गरे जे पनि गर्न सम्भव’ रहेको उदाहरण आफै बनेको उनी बताउँछन् ।  ‘हरेक व्यक्तिले समाजका लागि कम्तीमा एउटा काम गरेर जानुपर्छ,’ उनी भन्छन्।

प्रकाशित: १३ वैशाख २०७५ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App