समाज

ऐन महरविरुद्ध अदालतले परमादेश दिँदा पीडित भनिएकी युवती हिरासतमा

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश दिँदा सोही मुद्दामा पीडित भनिएकी युवती भने प्रहरी हिरासतमा छन्। 

बुधवार उच्च अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले एमाले नेता महरविरुद्ध बलात्कारको आरोप लगाइरहेकी युवती रश्मिला धामीको जाहेरी तत्काल दर्ता गरी अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिल कार्यालयका नाममा परमादेश जारी गरेको थियो।

यसअघि रश्मिलाको जाहेरीलाई काठमाडौँ प्रहरी परिसरले अनुसन्धान नै नगरी तामेलीमा राखेको थियो। जाहेरी तामेलीविरुद्ध रस्मिला रिट लिएर उच्च अदालतमा पुगेकी थिइन। उसो त रश्मिलाले तीन वटा रिट दिएकी थिइन । तीन मध्ये इजलासले दुई वटा खारेज गर्दै एउटामा परमादेश दिएको हो । 

यता ऐन महरविरुद्धको मुद्दामा अदालतले अनुसन्धान अघि बढाउन परमादेश दिँदा पीडित भनिएकी रश्मिला भने सिंहदरबार प्रहरी वृत्तको हिरासतमा छिन्। सिंहदरबार वृत्तले मङ्गलवार उनलाई माइतीघरबाट पक्राउ गरेको थियो । 

रश्मिलामाथि विद्युतीय अपराध (साइबर क्राइम)मा जाहेरी प्रहरीले जनाएको छ। 

फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको आरोपमा धामी पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको साइबर ब्युरोले धामीलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । त्यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको थियो। 

यही मुद्दामा यसअघि पनि रश्मिलालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। 

बझाङ घर भएकी रश्मिला र एमाले नेता महरबिच लामो समयदेखि विवाद चलिरहेको छ। रश्मिलाले बलात्कारको आरोप लगाएर सामाजिक सञ्जालमा महर र एक अर्की अनेरास्ववियूकी नेतृमाथि पनि खनिने गरेकी छन्। केही समयअघि प्रहरीले उनलाई समेत पक्राउ गरेको थियो।

प्रकाशित: १० माघ २०८१ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App