चमेराहरू सन्तान जन्माउनका लागि उपयुक्त ठाउँ खोज्दै हजारौं किमिसम्म पुग्ने गरेको वैज्ञानिकहरूको खोजले देखाएको छ। उपयुक्त मौसम र पर्याप्त खान्कीको खोजीमा उनीहरू त्यति टाढासम्म पुग्ने गरेको अध्ययनमा देखिएको हो।
हामीले सामान्यतः चमेराहरू एकै ठाउँमा झुण्डिरहेको देखे पनि यिनले सन्तानका खातिर धेरै टाढासम्म जाने गरेको यसअघि जानकारी थिएन। चमेराहरूमा भएका साना ट्रान्समिटर र शक्तिशाली सेन्सर नेटवर्क लगाएर वैज्ञानिकहरूले तिनको यात्राबारे अध्ययन गरेका थिए।
साइन्स जर्नलमा प्रकाशित रिपोर्टका अनुसार, अनुकूल मौसमको फाइदा उठाउँदै चमेराहरू यूरोपमा एक हजार किमिभन्दा बढी यात्रा गर्ने गरेका छन्। मुसा जत्रै आकारका यी साना चमेराहरू आफ्नो सन्तानको लालनपालनका लागि उचित ठाउँ खोज्दै यात्रा गरिरहने देखिएको हो। यस्ता साना चमेरालाई नक्टुला भनिन्छ। यिनको यात्रा मौसमले तय गर्ने गर्छ। त्यसो त आकारमा साना रहेका यी चमेराका बारेमा खोज गर्नु निकै कठिन हुन्छ।
जीव वैज्ञानिकहरूले लामो समयदेखि यिनको यात्राका बारेमा पत्ता लगाउन खोजिरहेका थिए। यस अध्ययनका लागि उनीहरूले शुरुमा पारम्परिक ट्याग लगाउने गरेका थिए र त्यसले यिनीहरू कहाँबाट निस्केर कहाँ पुगे भन्ने मात्र पत्ता लगाउन सकिएको थियो। यसका अतिरिक्त यिनको यात्राको बाटो पत्ता लगाउन वैज्ञानिकहरूले ड्रोन र मौसम राडारलाई पनि प्रयोग गरेका थिए।
फ्रान्सको नेसनल म्युजियम अफ नेचुरल हिस्ट्रीका संरक्षण बायोलोजिस्ट शाहलोत रोएमर र उनका सहयोगीहरूले ३० देशमा यी चमेरा संरक्षण गर्ने कार्यमा खटिएका ६० जना संरक्षकहरूलाई भेला पारी अल्ट्रासोनिक आवाज रेकर्डिङ पनि गरेका थिए।
यसले चमेराहरूको यात्रा गर्ने बाटो पत्ता लगाउन सकियोस्। हुन त अपनाइएका कयौं उपायले तिनको यात्राको पूर्ण विवरण भने संकलन गर्न सकिएको छैन। त्यो कमी पूरा गर्न जर्मनीको म्याक्स प्लांक इन्स्टिच्यूट अफ एनिमल बिहेभियरले एउटा सेन्सर विकसित गरेको छ।
यस्ता सेन्सरले एक दिनमा १४ सय ४० पटक विभिन्न तथ्यांक रेकर्ड गर्ने गर्छन्। तीन वर्षभन्दा बढी समयमा एक सय २५ चमेराहरूमा यस्ता सेन्सर लगाइएका थिए। तीमध्ये ७१ चमेराले विभिन्न तथ्यांक पठाइरहे। तथ्यांक पठाउने चमेराहरू उत्तरी जर्मनी, पोल्यान्ड, चेक रिपब्लिक हुँदै उत्तरपश्चिमतर्फ अघि बढे।
शोध अनुसार, उनीहरू हरेक रात करीब ३८३ किमि उड्थे। उनीहरूको गति १३ देखि ४३ मिटर प्रतिसेकेन्ड थियो। यो तथ्यांकले सबै चमेराहरू एकैतिर नजानेसमेत पत्ता लगाएको छ। यस्तो यात्राका क्रममा उनीहरूले वसन्त याममा आफ्ना सन्तान जन्माउने र त्यसपछि जाडोमा शीतनिद्रा पूरा गर्ने पनि वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
प्रकाशित: २८ पुस २०८१ ०७:३२ आइतबार