समाज

उमा सिंह स्मृति राष्ट्रिय पत्रकारिता सम्मान शर्मा र झालाई

<br>

शहीद पत्रकार उमा सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले राष्ट्रिय स्तरको पत्रकारिता सम्मान र पुरस्कारको थालनी गरेको छ।

धनुषा शाखाका अध्यक्ष पुरन साहको नेतृत्वमा सुरु गरिएको यस सम्मान कार्यक्रम शहीद पत्रकार उमा सिंहको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गरिनेछ।

यो वर्षको ‘उमा सिंह स्मृति राष्ट्रिय पत्रकारिता सम्मान’ नेपाल पत्रकार महासंघकी नवनिर्वाचित ऐतिहासिक प्रथम महिला अध्यक्ष निर्मला शर्मा र मधेश भूगोलबाट प्रथम अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ।

साथै, ‘उमा सिंह पत्रकारिता पुरस्कार २०८१’ उमा सिंहको हत्या हुँदा न्यायका लागि कुशल नेतृत्व प्रदान गरेका तत्कालीन धनुषा अध्यक्ष उमेश साहलाई प्रदान गरिएको छ।

धनुषा शाखाका अध्यक्ष साहका अनुसार, सम्मानित धर्मेन्द्र झा उमा सिंहको हत्या भएको समयमा अध्यक्ष रहेका र उनले न्यायका लागि अन्तर्राष्ट्रिय तहमा आन्दोलनको नेतृत्व गरेका थिए। त्यस्तै, वर्तमान अध्यक्ष निर्मला शर्मालाई उमा सिंहजस्तै साहसिक पत्रकार र महिलाहरूको गौरवका रूपमा सम्मान गरिएको हो।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूले धनुषा शाखाले सुरु गरेको यो सम्मान कार्यक्रम उमा सिंहप्रतिको वास्तविक श्रद्धाञ्जलि र पत्रकारिताको योगदानको मूल्याङ्कन भएको बताएका छन्।

शाखा अध्यक्ष साहले उमा सिंहको नाममा सुरु गरिएको राष्ट्रिय सम्मानले धनुषा शाखाको गरिमा बढाउने र उमा सिंहको साहसिक कर्मको चर्चा राष्ट्रिय स्तरमा निरन्तर हुने विश्वास व्यक्त गरे।

समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, मधेश प्रदेशका पदाधिकारी, धनुषाका पूर्वअध्यक्ष, आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलका अध्यक्षसहित अन्य जिल्लाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।

प्रकाशित: २७ पुस २०८१ २१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App