समाज

दाउ प्रहारबाट युवक गम्भीर, मुख्य आरोपी फरार

कपिलवस्तु नगरपालिका-३, अदालत टोलमा दाउ प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।

पावर जिमबाट अभ्यास सकेर फर्कने क्रममा युवकहरूको समूहले कपिलवस्तु नगरपालिका-१ चोक बजारस्थित नूरी मोबाइलका २१ वर्षीय सञ्चालक सहील खाँलाई दाउले आक्रमण गरेको हो।

प्रहरीका अनुसार सहीलको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई भैरहवास्थित सिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। घटनामा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मुख्य आरोपी अझै फरार रहेको र उनको खोजी जारी रहेको बताइएको छ।

सहीलको परिवारले ज्यान मार्ने उद्योग अन्तर्गत ३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। सहीलका दाजु राजन खाँका अनुसार अदालत टोलका प्रभात मिश्रा, शिवकोटवाका रामचरण यादव र आकाश तेलीले दाउ प्रहार गरेका हुन्। केही महिना अघिको विवादका कारण प्रभात मिश्राको नेतृत्वमा सहीलमाथि आक्रमण गरिएको परिवारले दाबी गरेको छ।

सहीलका दाजुले भाईको अवस्था गम्भीर रहेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको र फरार मुख्य आरोपीलाई चाँडै पक्राउ गरिने जानकारी दिएको छ।

प्रकाशित: २७ पुस २०८१ १७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App