समाज

जगाती बसपार्क सार्न ‘आर्थिक चलखेल’ भएको स्थानीयको आरोप

भक्तपुरको जगाती क्षेत्रका स्थानीयले आर्थिक चलखेलका कारण २०२१ सालदेखि सञ्चालनमा रहेको जगाती बसपार्क अन्यत्र सार्न खोजिएको आरोप लगाएका छन्। स्थानीय ९४ घरधनीले हस्ताक्षर संकलन गर्दै बसपार्कलाई साविक स्थानमै कायम गर्न माग गरेका छन्।

अरनिको राजमार्ग सुधार तथा विस्तारका क्रममा नयाँ डिजाइनमा बसपार्कलाई स्थानान्तरण गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरेका हुन्। संघर्ष समितिका संयोजक सीताराम खाइजूका अनुसार बसपार्कलाई यथास्थानमा राख्न ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएकोले थप दबाबमूलक कार्यक्रमको तयारी भइरहेको छ।

भक्तपुर नगरपालिका वडा नं-८ लिवाली र सूर्यविनायक नगरपालिका वडा नं-८ सिपाडोलका स्थानीयले दुवै वडा कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका छन्। वडाध्यक्षहरूले स्थानीयको मागप्रति समर्थन जनाउँदै बसपार्कलाई साविक स्थानमै राख्न सडक आयोजना कार्यालयलाई पत्र काटेका छन्।

सडक विभाग सूर्यविनायक–धुलिखेल सडक आयोजना प्रमुख ईन्जिनियर राजेन्द्रप्रसाद दासले स्थानीयको मागलाई सम्बोधन गर्न माथिल्लो निकायसँग छलफल भइरहेको बताए। उनका अनुसार बसपार्कको नयाँ स्थानबारे पुनः परामर्श भइरहेको छ।

स्थानीयका अनुसार बसपार्क सारिएमा भक्तपुरका विभिन्न स्थानमा आवतजावत गर्ने यात्रुहरूलाई कठिनाइ हुनेछ। विशेषगरी ख्वप कलेज, ख्वप अस्पताल, बागीश्वरी मावि, डोलेश्वर, र मलामी जाने यात्रुहरू प्रभावित हुने बताइएको छ।

अरनिको राजमार्गको निर्माण २०२१ सालमा चीन सरकारको सहयोगमा भएको थियो। उक्त राजमार्ग चीनसँगको व्यापारिक सम्पर्कका लागि मुख्य मार्ग हो। जगाती बसपार्कको ऐतिहासिकता र यात्रुको सुविधा जोगाउन यसलाई स्थानान्तरण नगर्नुपर्ने स्थानीयको भनाइ छ।

बसपार्कलाई सूर्यविनायक अस्पताल नजिक स्थानान्तरण गर्ने प्रस्ताव गरिएको छ। तर, स्थानीयले साविक स्थानमै बसपार्क राख्नुपर्ने अडान राखेका छन्।

तस्वीर: जगाती बसपार्कको वर्तमान दृश्य।

प्रकाशित: १३ पुस २०८१ २०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App