समाज

भक्तपुरमा उठाइयो हात नभएको लिंगो

भक्तपुर- भक्तपुरको पोटरी स्वायरमा शुक्रबार दिउँसो हात नभएको लिंगो उठाइएको छ। स्थानीय टोलबासीहरु डोरीको सहायताले तानेर दिउँसो साढे १२ बजे लिंगो उठाउन सफल भएका हुन्। प्रत्येक वर्ष चैत मसान्तको दिन विस्केट जात्राको क्रममा यहाँ यसरी नै हात नभएको लिंगो उठाउने चलन छ।

लिंगो उठाएको जात्रा हेर्न भक्तपुरका ठाउँ ठाउँबाट हजारौं जात्रालुप्रेमीहरु विहानैदेखि सहभागी रहेका थिए। प्रत्येक वर्ष चैतको मसान्तमा उठाउने यहाँ उठाइने लिंगोलाई विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते ढाल्ने परम्परा रहिआएको छ।

विस्केट जात्राको क्रममा शुक्रबार साँझ नै भक्तपुरकै ल्योसिंखेलमा हात भएको लामो (५५ हाते) लिंगो उठाइँदैछ। आठ रात नौ दिन लामो भक्तपुरको विस्केट जात्राको यो मुख्य आकर्षक जात्राको रुपमा लिइन्छ। यो लिंगो उठाएको जात्रा हेर्न यो दिन ल्योसिंखेलमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेलगायतका छिमेकी जिल्लाहरुबाट समेत जात्राप्रेमीहरु आउने गर्छन्। लिंगो उठाउने कारणले नै यस ठाउँको नाम ल्योसिंखेल (लिंगो उठाउने ठाउँ) को रुपमासमेत चर्चित छ।

प्रकाशित: ३० चैत्र २०७४ ०८:०२ शुक्रबार

भक्तपुरमा उठाइयो हात नभएको लिंगो