३२ दिनसम्म बन्द रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ताला खोलिएको छ। बढुवाको माग राख्दै आएका आन्दोलनरत शिक्षक तथा कर्मचारीहरू नियमित काममा फर्किएका छन्।
उनीहरुले बुधबार साँझ पत्रकार सम्मेलनमार्फत आन्दोलन स्थगन गरी नियमित काममा फर्किएको घोषणा गरेका हुन्।
आन्दोलनरत शिक्षक कर्मचारीहरूले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, रजिष्ट्रार नृपेन्द्र महत, रेक्टर डा. डबलबहादुर धामी र शैक्षिक तथा प्रशासनिक कक्षमा लगाइएको ताला खोल्दै प्रतिष्ठानका सबै काम पुनः सुरु गरिएको जानकारी दिए।
लेखा अधिकृत इन्द्रराज डाँगीका अनुसार उपकुलपति डा. रावलले शिक्षक तथा कर्मचारीका माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको हो।
कर्मचारीहरूले नियमावलीअनुसारको तलबभत्ता नपाएको र बढुवा प्रक्रियामा अन्याय भएको भन्दै आन्दोलन थालेका थिए।
शिक्षक तथा कर्मचारीहरूले उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा मुद्दा हालेका थिए। अदालतले २०८१ भदौ २६ गते शिक्षक कर्मचारीको पक्षमा फैसला गरे पनि सो निर्णय कार्यान्वयन नभएपछि उनीहरूले २०८१ कात्तिक २६ गतेबाट दबाबमूलक कार्यक्रम सुरु गरेका थिए।
कात्तिक २७ गते पदाधिकारी र कर्मचारीबीच भएको वार्तामा कार्यकारी परिषद्ले स्तरवृद्धि गर्ने निर्णय सभामा पेस गर्ने सहमति गरे पनि, कात्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न सभाले अनुमोदन गरेपछि पनि उपकुलपतिले निर्णय कार्यान्वयनमा ढिलाइ गरेको शिक्षकहरूले आरोप लगाए।
यो स्थितिबाट असन्तुष्ट बनेका शिक्षक कर्मचारीहरूले मंसिर ३ गते प्रतिष्ठानमा ताला लगाएका थिए। त्यसपश्चात मंसिर ४ र ५ गते सर्वदलीय बैठक आयोजना भए पनि समाधान निस्कन नसकेपछि आन्दोलन थप चर्किएको थियो।
पुस ४ गते उपकुलपतिले छुटेका पदहरूसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगन भएको हो। विज्ञप्तिमा गोरखापत्रमा प्रकाशित सूचनाका छुट पदहरूको विषयमा थप स्पष्टता आउने आश्वासनसमेत दिइएको उल्लेख छ।
लामो समय ताला लाग्दा प्रतिष्ठानका प्रशासनिक र शैक्षिक गतिविधि ठप्प भएका थिए। आन्दोलनमा ५८ जना शिक्षक तथा कर्मचारी सहभागी थिए।
प्रकाशित: ४ पुस २०८१ १९:०६ बिहीबार