समाज

पोखरा विश्वविद्यालयमा घोटाला, एउटै बिलमा दुई पटक भुक्तानी

<br>

पोखरा विश्वविद्यालयमा एउटै बिलमा दुईपटक भुक्तानी गरेको पाइएको छ। पोखरा विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजी विभागले एउटा प्रोजेक्ट अन्तर्गत ल्याइएको सामानको एउटै बिलको दुईपटक भुक्तानी गरेर घोटाला गरेको खुलेको हो।

विश्वविद्यालयका लेखापाल रवीन्द्र सुवेदीले एउटै बिलको पटकपटक चेक काटेर भुक्तानी गरेको पाइएपछि उनलाई विश्वविद्यालयले निलम्वन गरेको छ। उनले नबिल बैंकको चेक दुईपटक गरेर करिब आठलाख रुपैयाँ निकासा गरेको पाइएको हो। सो चेकमा विश्वविद्यालयका साईन्स एण्ड टेक्नोलोजी विभागका डिन राजेश ठकुराठी र लेखापाल सुवेदीले हस्ताक्षर गरेका छन्। चेकमा हस्ताक्षरकर्ता दुईजना भएपनि विश्वविद्यालयले लेखापाल सुवेदीलाई मात्र निलम्वन गरेको छ। अर्का डिन ठकुराठीलाई भने उन्मुक्ति दिइएको छ।  

ठकुराठीको प्रत्यक्ष संलग्नता नदेखिएकाले तत्काललाई निलम्वन नगरेको पोखरा विश्वविद्यालय प्रशासन श्रोतले जनाएको छ। घटना बाहिर आएपछि लेखापाल प्रमुख सुवेदीले दुइलाख रुपैयाँ फिर्ता गरिसकेको श्रोतले बताएको छ। बाँकी रकमपनि फिर्ता गरेर मिलाईदिन उनले हारगुहार गरिरहेको श्रोत बताउँछ।

विश्वविद्यालयले घोटालाबारे छानविन गर्न विश्वविद्यालयका प्रशासन प्रमुख गोर्वद्धन भट्टराईको संयोजकत्वमा एक छानविन समिति बनाएको छ। एक महिनाको समयावधि तोकेर करिब दुई साताअघि बनेको छानविन समितिले अहिले छानविन गरिरहेको विश्वविद्यालयका रजिष्ट्रार दीपकबहादुर भण्डारीले जानकारी दिए। उनले भने, ‘घटना थाहा भएलगत्तै छानविन समिति बनाएका छौं। सो समितिले छानविन गरिरहेको छ।’  

उनले लेखापाल सुवेदीलाई एउटै बिलमा दुईपटक चेक साटेकोले मात्र निलम्वन नगरिएको दाबी गर । यो केसले मात्र निलम्वन गरेको होईन,’ उनले भने, ‘उनले यसअघि पनि यस्ता हर्कत पटकपटक गरेको आशंका छ। उनको आचरण, काममा हुने ढिलासुस्ती र लापरवाहीले गर्दा निलम्वन गरेको हुँ।’ छानविन समितिलाई लेखापाल प्रमुख सुवेदीले छानविनमा सहयोग नगरेको रजिष्ट्रार भण्डारीले बताए। ‘उनी अहिले सम्पर्कमा छैनन्। यसले छानविनमा समेत कठिनाई उत्पन्न भएको छ,’ उनले भने।

एउटै बिलमा दुई पटक चेक साटिनुमा डिन ठकुराठीको गल्ती नभेटिएकाले तत्काललाई कारवाही नगरिएको रजिष्ट्रार भण्डारीले बताए। ‘छानविन समिति बन्नुअघि मैले आफैले एकपटक अध्ययन गरेको थिएँ,’ उनले भने, ‘त्यहाँ डिन सरको गल्ती देखिन।’ तर छानविन समितिले डिन ठकुराठीको संलग्नताबारे पनि छानविन गर्ने उनले बताए। ‘छानविनमा दोषी देखिए उहाँलाईपनि कारवाही हुन्छ,’ उनले भने।

डिन ठकुराठीले एउटै बिलमा दुईपटक चेक काटिनु र साटिनुमा आफू निर्दोष रहेको जिकीर गरे। ‘पहिलेको चेक बदर गरेर दोश्रो चेक बनाउन भनेको थिएँ,’ उनले भने, ‘पहिलो र दोश्रो चेकको रकम केहि फरक भएकाले हस्ताक्षर गरेको हुँ। तर पहिलो चेक क्यान्सिल नगरी साटिसकेको रहेछ, त्यो मलाई थाहा भएन।’  

उनले दुईवटै चेक साटेको थाहा पाउने वित्तिकै आफूले रजिष्ट्रारलाई जानकारी गराएको तथा लेखापाललाई आफैले कारवाही गरेको पनि उनले दाबी गरे। लेखापाल प्रमुख बदमास निस्किदा आफू जोडिएको उनको भनाई छ।

विश्वविद्यालयले गठन गरेको छानविन समितिका संयोजक गोर्वद्धन भट्टराईले घटनाको छानविन भइरहेको बताए। ‘अब केहीदिनमै प्रतिवेदन तयार हुन्छ,’ उनले भने, ‘थप विषयमा अहिले केहि भन्न मिल्दैन।’ उनले डिन ठकुराठीले आफूलाई लेखापाल प्रमुखले विश्वासघात गरेको बताएको जानकारी दिए। ‘लेखापाल प्रमुख सोह्रैआना दोषी देखिन्छन,’ उनले थपे, ‘डिन पनि जवाफदेही त हुनुहुन्छ। कार्यालय प्रमुखले नबुझिकन चेकमा हस्ताक्षर नगर्नुपर्ने हो। तर विश्वास गर्दा घात भएको पनि हुनसक्छ, यसबारे हामी बुझ्दैछौं।’

प्रकाशित: २ पुस २०८१ १७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App