समाज

नियन्त्रण बाहिर गएको डढेलो वर्षाले निभायो

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक बनमा लागेको भीषण डढेलो वर्षाले निभाएको छ। खोटाङकै दोश्रो ठूलो मानिएको सामुदायिक बनमा शनिबार बिहानदेखि लागेको डढेलो मंगलबार साँझ परेको वर्षाले निभाएको हो। स्थानीयले निभाउने प्रयास गर्दा पनि नसकिएपछि छाडिएको डढेलो भारी वर्षाले निभाएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए । 

पूर्वी जुरेथुम्काबाट सुरु भएको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास विफल भएपछि क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको थियो। ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको सामुदायिक बनमा लागेको डढेलोले बनको अधिकांश क्षेत्र डढेको छ। त्रिबेणी भुलभुलेबाट सुरु भएको डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँहुँदै बनपालातर्फ फैलिएको थियो। सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको स्थानीयको भनाई छ। शनिबार दिनभर दुई सयको हाराहारीमा स्थानीय भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेपछि स्थानीय हार मानेर फर्किएको वडाध्यक्ष ढकालले बताए। 

जोगाउने प्रयासका बावजुद पनि जंगलबाट आएको आगोको लप्कोले तेजबहादुर राईको मतान जलेको छ । डढेलो निभाउनेक्रममा स्थानीय बिप्लव राई घाईते भएका छन्। 

प्रकाशित: २८ चैत्र २०७४ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App