समाज

‘महिला जति साक्षर उति पारपाचुके’

पछिलो समय महिलाहरू जति धेरै शिक्षित भए उति नै आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएको देखिएको छ। आर्थिक रूपमा सक्षम हुँदा महिला दबिएर बस्नुपर्ने दुःखपीडाका दिन पनि हराउँदै गएको तथ्यहरू उजागर भएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको पछिल्लो जनगणना २०७८ को एकल महिलाको अवस्थाबारे तथ्यांकले जति धेरै साक्षर उति धेरै पारपाचुके हुँदै गएको तथ्यांक सार्वजनिक गरेको छ।

विगत दुई दशकमा पारपाचुके र छुट्टिएर बस्ने महिलाहरूको संख्या ह्वात्तै वृद्धि भएको छ। २०५८ सालमा पारपाचुके गर्ने महिला २३.१ प्रतिशत मात्र साक्षर थिए भने २०६८ सालमा आइपुग्दा ४४.६ प्रतिशत साक्षर महिलाले पारपाचुके गरेका थिए। तर यो संख्या १०७८ को जनगणनामा ह्वात्तै वृद्धि भएको छ। पारपाचुके गर्ने महिला ६८.९ प्रतिशत साक्षर रहेको सरकारी तथ्यांक छ।

यसैगरी छुट्टिएर बस्ने महिलाको संख्या २०५८ मा २३.३ प्रतशत थियो भने २०६८ मा छुटिएर बस्ने साक्षर महिलाको संख्या ३२.३ प्रतिशत र २०७८ को जनगणनाले छुट्टिएर बस्ने महिलाको साक्षरता ५०.९ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले विगत केही दशकदेखि महिलाहरू साक्षर हुँदै जाँदा आत्मनिर्भर हुँदै गएको र यसले महिलालाई आत्मविश्वासी बनाएको बताए। ‘आर्थिक रूपमा सक्षम भएपछि कोही पनि दबिएर वा हेपिएर बस्न रुचाउँदैन। आफ्नो आत्मसम्मान अवश्य पनि खोज्छ नि,’ उपप्रमुख डा. रेग्मीले भने, ‘आर्थिक रूपमा सक्षम भएपछि आफ्नो जीविका धान्न सक्ने हुन्छन्। यसकारण पनि शिक्षा र सम्बन्ध विच्छेद र छुट्टिएर बस्ने बढेको हो।’

यति मात्र होइन, महिला सक्षम छन् भने उसले आफ्नो जीवनसाथी पनि सक्षम नै रोज्छन् तर पुरुष सक्षम भए पनि आफ्नो जीवनसाथी निरक्षरसमेत रोज्ने पुरानो सोचले विगतमा महिला हेपिएर बस्नुपर्ने बाध्यता थियो।

यसकारण पनि पछिल्लो समय अभिभावकमा छोरीलाई अनिवार्य शिक्षा दिनुपर्ने सचेतना जागेकाले छोरीहरू आत्मनिर्भर हुँदै गएको तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कुल एकल महिलाको संख्या ८.०२ प्रतिशत रहेको छ। प्रतिवेदनले ३५ वर्ष वा सोभन्दा माथिका विवाह नगरेका महिला, विधवा, पारपाचुके र भिन्न बसेका महिलालाई एकल महिला भनी परिभाषित गरेको छ।

राष्ट्रिय तथ्यांक कार्यालय तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनसंख्या अध्ययन केन्द्रीय विभागका विज्ञहरूले वुमन फर ह्युमन राइट्स एकल महिला समूहसँगको सहकार्यमा तयार गरेको प्रतिवेदनले नेपालमा विधुरभन्दा विधवाको संख्या बढी भएको समेत तथ्य उजागर गरेको छ।

एकल महिलाको परिवार अवस्था विश्लेषण ६६ लाख ६० हजार ८४१ घरपरिवारमा आधारित रहेको छ। कुल ६६ लाख ६० हजार ८४१ घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला पाइएको तथ्यांक छ। यीमध्ये आठ लाख २६ हजार १४७ अर्थात् ६.६ प्रतिशत विधवा र दुई लाख ५५ हजार आठ विधुर अर्थात् २.२ प्रतिशत छन् ।

विगत सात दशकको तथ्यांक हेर्दा महिलाको वैवाहिक स्थितिमा ठूलो फरक आएको छ। २०१८ सालमा ६९.२ प्रतिशत महिला विवाहित थिए भने यो संख्या २०५८ सालमा ६५.५ मा झरेको छ। २०७८ सालको जनगणनामा महिलाको वैवाहिक अवस्था निकै फरक छ। हाल यो संख्या ६४.३ प्रतिशतमा झरेको छ।

यसैगरी विधवाको संख्यामा पनि विगत सात दशकमा निकै उतार चढाव देखिएको छ। २०१८ सालमा १४.३ प्रतिशत थियो भने २०५८ सालमा ३.७ मा झरेको थियो भने पछिल्लो जनगणना २०७८ सालमा पुनः वृद्धि भएर विधवाको संख्या ६.६ प्रतिशत पुगेको छ। यसैगरी विगत सात दशकमा पारपाचुकेको संख्या पनि निकै वृद्धि भएको छ।

२०१८ सालमा ०.३ प्रतिशत मात्र पारपाचुके थियो भने २०५८ मा आइपुग्दा पनि ०.३ प्रतिशतमै सीमित थियो। तर २०७८ सालको जनगणनाको तथ्यांकले ०.७ प्रतिशत महिलाले पारपाचुके गरेको तथ्यांक उजागर गरेको छ।

यसैगरी अविवाहित महिलाको संख्या पनि विगत सात दशकभित्र उल्लेख्य वृद्धि भएको छ। २०१८ सालतिर अविवाहित महिलाको संख्या १५.१ प्रतिशत थियो भने २०५८ मा ३०.३ प्रतिशत रहेको थियो। त्यस्तै २०७८ को जनगणनासम्म आइपुग्दा अविवाहित महिलाको संख्या २८.४ प्रतिशतमा झरेको छ ।

विधवा साक्षरता १८.९ प्रतिशत मात्र

कार्यालय प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटीका अनुसार जति धेरै साक्षर, उति धेरै पारपाचुके छ एकातिर भने अर्कोतिर विधवाहरूको साक्षरता उति नै न्यून छ। देशको १० वर्ष वा सोभन्दा माथिका कुल विधवा महिला जनसंख्याको साक्षरता दर १८.९ प्रतिशत छ।

 ‘पारपाचुकेको साक्षरता दर बढी छ भने अर्कोतिर विधवा महिलाको करिब १९ प्रतिशत साक्षरता दर महिला सारक्षताको राष्ट्रिय औसत ६७.१ प्रतिशतभन्दा निकै कम हो,’ अधिकारी बुर्लाकोटीले अध्ययनका क्रममा भेटिएको तथ्य बताउँदै भने, ‘आर्थिक रूपमा सक्षम, शिक्षित महिलामा परनिर्भरता घट्दै गयो। यसले सहने क्षमता पनि अवश्य नै घट्छ। यो सकारात्मक परिवर्तन हो ।’

प्रमुख बुर्लाकोटीले थपे, ‘अर्कोतिर वैदेशिक रोजगारमा जानेहरू बढीजसो पुरुष भएका र उनीहरू विदेश र स्वदेशमा समेत दुर्घटनामा पर्ने बढी नै भएकाले विधवाको संख्या बढेको हो। वैदेशिक रोजगारमा जाँदा उतै विवाह गर्ने भएकाले पनि छुटिने र पारपाचुके पनि बढ्दै जानुको पनि एकल महिलाको अर्को कारण पनि हो। साथै हाल महिलाको औषतआयु पनि पुरुषको भन्दा बढी भएकाले पनि एकल महिला बढेका हुन्।’

विधवा हिन्दु बढी

धर्मका आधारमा तथ्यांक विश्लेषण गर्दा बहुसंख्यक विधवा हिन्दुधर्मका अनुयायी रहेको पाइएको छ। ८२.७ प्रतिशत विधवा हिन्दुधर्मका छन् भने बौद्ध धर्मका ८.६ र किराँतका ३.२ प्रतिशत रहेका छन्।

बागमती प्रदेशका विधवा महिलामा साक्षरता बढी

प्रदेशअनुसार विधवा महिलाहरूको सबैभन्दा बढी साक्षरता दर बागमती प्रदेशमा छ। यो प्रदेशमा २३.९ प्रतिशत विधवा महिला साक्षर छन् भने सबैभन्दा कम मेधस प्रदेशमा छ। यस प्रदेशमा विधवाको साक्षरता दर १०.६ प्रतिशत मात्र छ। पहाडमा विधवाहरूको साक्षरता २०.७ प्रतिशत, तराईमा १८.३ प्रतिशत र हिमालमा ११.६ प्रतिशतमा सीमित छ।

२३ प्रतिशत विधवाको विवाह /१५ वर्षभन्दा कम उमेरमा

विवाहित महिलामध्ये करिब २३ प्रतिशतले १५ देखि २४ वर्षको बिचमा विवाह गरेको देखिएको छ। यो उमेर समूहमा ७१ प्रतिशत विधवा महिला पनि पर्दछन्। जसमा धेरैजसो कम उमेरमा विवाह गरेको तथ्यांक छ। यसबाहेक उल्लेखनीय रूपले २३ प्रतिशत विधवा महिलाको विवाह १५ वर्ष र सोभन्दा कम उमेरमा भएको तथ्यांक छ ।

१७ प्रतिशत विधवाका सन्तान छैनन

यसैगरी १५ देखि ४९ वर्ष उमेरका १७ प्रतिशत विधवाका सन्तान नै नभएको तथ्यांक छ भने ३० प्रतिशतको एक मात्र सन्तान भएको छ। २२ प्रतिशत विधवामा दुई र चार प्रतिशत विधवामा ६ वा सोभन्दा बढी सन्तान भएको तथ्यांक छ।

एक्लै बस्ने एकल महिला विस्तारित

नेपालको सामाजिक तथा जनसाङ्ख्यिकीय परिप्रेक्ष्यसँग जोडेर हेर्दा एक्लै बस्नु भनेको एकल महिलाहरूको जोखिममा पर्नु हो। राष्ट्रिय स्तरमा २०५८ सालको जनगणनाले ३८ प्रतिशत एकल महिला एक्लै बस्ने गर्थे भने २०६८ सालमा आइपुग्दा यो संख्या बढेर ४१ प्रतिशत पुग्यो। २०७८ मा आएर यो संख्या थप बढेर ५५ प्रतिशत पुग्यो। उपप्रमुख एवं कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीका अनुसार बढ्दो दरका यी तथ्यांकले सबै भौगोलिक क्षेत्रमा एकल महिलाको विस्तारित एक्लोपनको प्रवृतिलाई उजागर गरेको छ।

प्रकाशित: १८ मंसिर २०८१ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App