समाज

नक्कली सुन देखाएर ठगी गर्ने ६ जना पक्राउ

नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलनमार्फत ठगी गर्ने गिरोहका ६ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमध्ये ५ जना ५० वर्षमाथि र १ जना ३४ वर्षका छन्।

भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ, ३४ वर्षीय सञ्जय शर्मा, झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

उनका अनुसार प्रदेशका विभिन्न ठाउँमा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गरेको सूचनाका आधारमा गरिएको अनुसन्धानबाट उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरेको हो।

संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङले कात्तिक २७ गते बिरामी पत्नीलाई उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याएका थिए।

अस्पतालमा भेटघाट भएका अपरिचित व्यक्तिले गाउँले दाजुभाइको नाता लगाएर सहयोग गर्ने बहानामा झोलाभित्र राखेको १ लाख १० हजार रुपैयाँ चोरिदिए।

एसपी चिमरियाले उक्त चोरी घटनामा संलग्नको खोजी र अनुसन्धान गर्ने क्रममा पक्राउ परेको गिरोहसम्म पुग्न सफल भएको बताए। पक्राउ परेका अशोकले अस्पतालमा भेट भएका कृष्णबहादुरको पैसा चोरी गरेर हिँडेको बताइएको छ। पक्राउ परेका समूहले झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा ठगी गरेको पाइएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङको टोलीले गिरोहलाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको बताउँदै, एसपी चिमरियाले भने, ‘हटिया, अस्पताल, मेला, पर्व र भिडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरूलाई सुनजस्तो धातु देखाइ प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइयो। नक्कली सुनका टिल (बिस्कुट) देखाएर प्रलोभनमा पार्दै सर्वसाधारणले लगाएका गरगहना र उनीहरूसँग भएको पैसा ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

प्रारम्भिक अनुसन्धानबाट सुनसरीमा ५, मोरङमा ४ र झापामा १ जनामाथि ठगी गरेको पत्ता लागेको छ। यिनीहरूले होटल परिवर्तन गर्दै बस्ने, गलत नामहरु बताउने, फ्ल्याट भाडामा लिएर बस्ने, अन्य व्यक्तिका नाममा रहेका मोबाइलका सिम प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेको समूहबाट सुनजस्तो देखिने पहेँलो धातुबाट बनाइएको तिलहरी, हार, मङ्गलसूत्र, टिल, चन्द्रमा, कानमा लगाउने रिङ, सिक्री, झुम्का, टपलगायत बरामद भएको छ। २ लाख ७२ हजार ४ सय ३० नेपाली र २ हजार ६ सय ३० भारती रुपैयाँसमेत बरामद भएको छ। सामान र नगद पक्राउ परेकाको घर तथा कोठाबाट बरामद गरिएको एसपी चिमरियाले बताए।

पक्राउ प्रतिवादीविरुद्ध ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८१ २०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App