समाज

विद्यालयमा मोबाइल प्रतिबन्ध, उल्लंघन गरे जरिवाना

विद्यालयमा मोबाइल प्रतिबन्धबारे छलफल।

जुम्लाको पातारासी गाउँपालिका–५ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालय समयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको सहमतिमा लागू गरिएको यो निर्णयले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्य राखेको छ।

प्रधानाध्यापक कृष्ण बुढाका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि विद्यार्थीले मोबाइल प्रयोग गर्न पाउने छैनन्। यदि विद्यार्थीले मोबाइल ल्याएको भेटिएमा तीन हजार रुपैयाँ जरिवाना तोकिनेछ। यो रकम एक साताभित्र अभिभावकले विद्यालयमा बुझाउनुपर्नेछ, अन्यथा मोबाइल लिलाम गर्ने व्यवस्था गरिएको छ। उनले भने, ‘मोबाइलबाट आउने रकम विद्यार्थीको शैक्षिक सुधारमा खर्च गरिनेछ।’

यसअघि, कक्षाकोठाभित्रै मोबाइल चलाउने, विद्यालयको वाइफाइ प्रयोग गरी गेम खेल्ने जस्ता गतिविधिले पढाइमा प्रत्यक्ष असर परेको गुनासो अभिभावकबाट आएको प्रधानाध्यापकले जनाए।

विद्यालयले शैक्षिक सुधारका लागि अन्य कदम पनि चालिरहेको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ६ सम्म अंग्रेजी माध्यमबाट पढाइ गरिनेछ। हरेक शुक्रबार विद्यार्थीहरू झोलारहित विद्यालयमा आउनुपर्ने व्यवस्था गरिएको छ भने सफल किसान, व्यवसायी, कर्मचारी, खेलाडी, डाक्टर, इन्जिनियरलगायतका पेशागत व्यक्तित्वसँग अन्तरक्रिया गराउने अतिरिक्त कक्षा पनि सञ्चालन गरिनेछ।

प्रधानाध्यापक बुढाले भने, ‘विद्यालयलाई नमूना बनाउनका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य महत्वपूर्ण हुन्छ। यस निर्णयले विद्यार्थीको ध्यान पढाइतर्फ केन्द्रित हुने र अनुशासन कायम गर्न मद्दत पुग्नेछ।’

विद्यालयले शिक्षकका लागि पनि नियम लागू गरेको छ। शिक्षकले मोबाइल अनिवार्य साइलेन्ट मोडमा राख्नुपर्नेछ भने आकस्मिक कल गर्नका लागि कक्षाबाट बाहिर जानुपर्नेछ।

अभिभावकले विद्यालयको यो कदमको प्रशंसा गरेका छन्। उनीहरूले मोबाइल किनेर दिनुको साटो घरमा पढाइको वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन्।

विद्यालय व्यवस्थापन समितिले नियमित रूपमा कक्षाकोठा अनुगमन गर्ने, असल अभ्यासहरू साझा गर्ने र विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा ध्यान दिने योजना बनाएको छ।

प्रकाशित: १३ मंसिर २०८१ २०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App