आसन्न उप-निर्वाचनको लागि मौन अवधि सुरु हुने अघिल्लो दिन उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाए। बिहीबार मध्यराति १२ बजेदेखि सुरु हुने मौन अवधिका कारण सबै दल र स्वतन्त्र उम्मेदवारले अन्तिम दिनको प्रचार अभियानमा पूरा ध्यान केन्द्रित गरे।
निर्वाचन आयोगले मौन अवधिमा खुला प्रचारप्रसार गर्न रोक लगाएको छ। यसै कारण बिहीबार बिहानदेखि साँझसम्म उम्मेदवारहरू आक्रामक रूपमा मतदाता र जनताको ध्यान खिच्न सक्रिय भए।
उदयपुरका त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ का रिक्त वडाध्यक्ष पदका लागि उप-निर्वाचन हुँदैछ।
त्रियुगा-१२ का उम्मेदवारहरूले प्रचार अभियान मुख्यत: गाईघाट आसपासमा केन्द्रित गरे। गाईघाट बजारमा मात्रै होइन, सुदूर पूर्वी बेलका-९ का उम्मेदवारहरूले समेत त्यहीँ प्रचार गरिरहेका देखिए।
अन्तिम दिन, कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, एस, नाउपा, जनमत र स्वतन्त्र उम्मेदवारले र्याली, कोणसभा, माइकिङ, र गाडी र्यालीको सहारा लिए। मोटरसाइकल, जीप, सिटी, अटो र पैदल यात्राका माध्यमबाट उनीहरूले मतदाताको ध्यान खिच्ने प्रयास गरे।
त्रियुगा-१२ मा कांग्रेसका सञ्जिव काफ्ले, एमालेका लक्ष्मीनारायण चौधरी, माओवादीका नवीन वान्तवा राई, एसकी निर्मला चौधरी, रास्वपाका ध्रुव पोखरेल लगायत अन्य दल र स्वतन्त्र गरेर ९ जना प्रतिस्पर्धा गर्दैछन्।
बेलका-९ मा कांग्रेसका नवराज बस्नेत, एमालेका मोहन खड्का, माओवादीका भरत घिमिरे सहित ७ जना उम्मेदवारको भिडन्त हुँदैछ।
त्रियुगा-१२ का वडाध्यक्ष चुडाराज काफ्ले र बेलका-९ का वडाध्यक्ष पदम खड्काको सवारी दुर्घटनामा निधन भएपछि यी दुई स्थानमा उप-निर्वाचन हुन लागेको हो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मौन अवधिमा प्रचार गरिए आयोगको आचारसंहिताअनुसार कारबाही हुने छ। निर्वाचन अधिकृत दीपक दाहालका अनुसार आयोगले निरन्तर अनुगमन गरिरहेको छ।
अब उम्मेदवारहरूले आफ्नो प्रचार थामेर मौन अवधिको पालना गर्नु पर्नेछ। निर्वाचनको स्वच्छता कायम राख्न आयोगले कडाइका साथ नियम लागू गर्ने बताएको छ।
प्रकाशित: १३ मंसिर २०८१ २०:१५ बिहीबार