समाज

भारतबाट बिच्किएर हिँडेको पाटे बाघ नेपालमा

फाइल तस्बिर

भारतको कतरनिय वन्यजन्तु संरक्षण क्षेत्रबाट नेपाल प्रवेश गरेको रेडियो कलर जडित पाटे बाघ दर्जन बढिले सामुदायिक वनमा आश्रय स्थल बनाएको छ।

पाटे बाघ गत बुधवार अन्तर्राष्ट्रिय जैविक मार्ग खाताबाट नेपाल प्रवेश गरेपछि बर्दिया निकुञ्ज तर्फको बाटो अलमलिएको पाटे बाघ पश्चिम तर्फको सामुदायिक वन हुँदै बर्दियाको पूर्वी तर्फका सामुदायिक वन तर्फ लम्किरहेको छ।

रेडियो कलर जडित भारतीय बाघलाई भारतीय पक्षले लोकेश पत्ता लगाउँदै नेपाल तर्फ जानकारी गराउँदा उक्त पाटे बाघ खोज्दै वन प्रशासन, राष्ट्रिय संरक्षण कोष, र निकुञ्ज प्रशासनको विज्ञ टोलीले पाटे बाघको खोजी गरिरहेका छन्। खोजी गरेको एक साता हुँदा समेत पाटे बाघको  वास्तविक अवस्था अझै पत्ता लागेको छैन।

एक दिनमा १५ किलोमिटर बढी जङ्गल क्षेत्रका बस्ती नजिक देखिने उक्त बाघको अवस्था सामाजिक सञ्जालमा एक घण्टाको अन्तरालमा विभिन्न ठाउँमा देखिएको भन्दै आम सर्वसाधारण सचेत गराउँदै आएका छन्। भारतबाट बिच्चिकएर नेपाल प्रवेश गरेको बाघबाट मानवीय क्षति हुन नदिन बाघ अघिअघि हिँडे पनि विज्ञ टोली पछिपछि खोज्दै हिँडिरहेको छ।

जिल्लाको सदरमुकाम गुलरिया स्थित कृष्णसार संरक्षण क्षेत्र नजिक पाटे बाघ सोमबार दिउँसो देखिएको थियो। भारतीय पक्षले बाघको अवस्था पत्ता लगाउन प्रत्येक घन्टा अपडेटसहित जानकारी दिइरहेको वन कर्मचारी बताउँछन्।

वरिष्ठ वन अधिकृत राम कुमार चौधरीका अनुसार गुलरिया स्थित कृष्णसार संरक्षण क्षेत्रमा नजिक देखिएको बाघ मंगलबार दिउँसो पुरानो बाटो हुँदै कुसुम्बाघाट स्थित सामुदायिक वनमा रहेको रेडियो कलरले देखाएको छ। ‘बाघको  लोकेसनमा खोज्दै हिँड्दा हिँड्दै टोली दश किलोमिटर हिँडिसक्यो’ उनले भने,‘कुसुम्बाघाट स्थित लोकेसनबाट पत्ता लागे पनि हामीले खोज्दै हिँड्दा कहीँ कतै देखेनौ।’

एक सातादेखि भोको रहेको पाटे बाघले अप्रिय घटना निम्त्याउने जोखिम बढिरहेको छ। वन प्रशासनका अनुसार पाटे बाघले घर पालुवा वा जङ्गली जनावर खाएको भेटिएको छैन। गाउँ बस्ती तिर गाई वस्तुलाई समेत आक्रमण नगरेको वरिष्ठ अधिकृत चौधरीले जानकारी दिए। विज्ञ टोलीका अनुसार पूर्वी सामुदायिक वन हुँदै पुनः पश्चिम तर्फ हिँडिरहेको  भेटिएकाले एक वा दुई दिन भित्र पुरानै आश्रय स्थल तर्फ फर्कने अनुमान विज्ञ टोली गर्छन्।

बाघमा जडित रेडियो कलर खोजी गर्न घन्टै पिच्छे घन्टी बजाउँदा बाघ तर्सिएर रात दिन दौडिरहेको हुन सक्ने एक कर्मचारी बताउँछन्।

‘बाघ एक त नयाँ ठाउँमा आएको छ,’ उनी भन्छन्,‘घन्टै पिच्छे रेडियो कलरमा रहेको घन्टी बज्दा तर्सिएर जथाभाबी हिँडिरहेको हुन सक्छ।’ बाघ आक्रमण गर्न सक्ने त्यस्ता ठाउँमा नजान प्रशासनले विभिन्न बुलेटिन मार्फत आम सर्वसाधारणलाई सचेत गराइरहेको छ।

प्रकाशित: ११ मंसिर २०८१ १७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App