भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जलवायुजन्य प्रकोप सम्बोधन हुने गरी यातायातको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
जलवायुजन्य प्रकोपका कारण मुलुकका विभिन्न भागका सडक लगायतका भौतिक पूर्वाधारमा ठूल्ठूला क्षति भइरहेका बेला उनले सो आवश्यकता औँल्याएका हुन।
आइतबार काठमाडौंमा आयोजित यातायात पूर्वाधारसम्बन्धी प्राविधिक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री दाहालले यातायातको पूर्वाधार निर्माणमा मुलुकलाई विज्ञहरूको आवश्यकता रहेको पनि स्पष्ट पारे।
उनले वातावरणीय दृष्टिकोणबाट पनि अनुकूल हुने गरी सडकलगायतका यातायात पूर्वाधार निर्माण गर्नका लागि सम्बन्धित क्षेत्रका विज्ञहरू हुनुपर्ने भएकाले सरकारले सोहीअनुसार अघि बढ्ने सोच बनाएको बताए। मन्त्री दाहालले भौतिक पूर्वाधारको क्षेत्रमा खुलेर काम गर्नका लागि सरकारलाई बजेटको पनि अभाव रहेको दोहोर्याए।
प्रकाशित: ९ मंसिर २०८१ १८:२३ आइतबार