समाज

खाँडचक्र नगरपालिकामा मनपरी,आफूखुसी बढुवा सिफारिस गर्दै कार्यकारी नियुक्त

कालीकोटको खाँडचक्र नगरपालिकाले नियम मिचेर निमित्त  प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ। मेयर कमलबहादुर शाहीले प्रशासन तर्फका अधिकृत छैटौं तहका अबिराज शाहीलाई सातौं तहमा बढुवा भएको सिफारीस तयार पारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अवैध पत्र पठाएर कार्यकारी नियुक्त गरेका हुन्। नगरपालिकाले नियम मिचेर अधिकृत छैटौं तहका शाहीलाई  सातौं तहमा बढुवा गरिदिएको हो।  

कर्णाली प्रदेशले स्थानीय ऐन कार्यान्वयन नगरेको अवस्थामा अधिकृत स्तर सातौं तहमा बढुवा हुनका लागि स्थानीय सेवा ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यताले निर्धारण गर्नु पर्नेमा अहिले नियमावली तयार नहुदै अबिराज  शाही सातौं तहमा बढुवा भएका हुन्।

कर्णाली प्रदेशका कानुन सचिव शंकर बहादुर केसीले भने  ‘नियमावली आएपछि सातौं बनाउने हो । तर अहिले नियमावली आएको छैन।’ 

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयले बढुवा, स्तर बृद्ध नगर्नको लागी  कार्तीक ६ गते सबै स्थानीय तहमा पत्र समेत पठाएको छ। तर नगरपालिकाका मेयर कमलबहादुर शाहीले कार्यपालिकाको निणर्य गरेर सातौं तहमा बढुवा नभएकालाई आफुखुसी बढुवाको सिफरिस पत्र लेख्नलगाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका थिए। मन्त्रालयले पनि सोही पत्रबमोजिम अधिकृत छैटौं अबिराज शाहीलाई अधिकृत स्तर सातौं तह कायम गरी नि.प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र पठाइदियो। 

निवर्तमान कार्यकारी प्रबलजंङ शाहीले नियम र कानुनको पालना नभएको बताए। उनले कार्तीक ३० गते सम्मको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत आफै भएको तर नगरपालिकामा आफु नआएको मैका छोपेर अबिराज शाहीले आफुखुसी कार्यकारीको लागि सिफारीसमा हस्ताक्षर गरेर अधिकृत स्तर सातौंमा आफै बढुवाको सिफरिस गरेको बताए ।  

 मेयर कमलबहादुर शाहीका अनुसार खााँडाचक्र नगरपालिकाको हकमा  अबिराज शाही सातौ तहमा बढुवा गर्न मिल्ने भएकाले नै आफुले सिफारीस गरेको जवाफ दिए।  उनले भने ‘काम नर्गर्नेहरुको हकमा भन्दा तत्कालका लागी कामगर्ने अबिराज शाहीलाई नै बढुवाको सिफारीस गरिएको हो।’  स्थानीय तह आफैमा सरकार भएकाले यो सबै गर्न मिल्ने मेयर शाहीको दाबी  छ।  

नियम काननुन मिचेर अबिराज शाहीले नियुक्ती पत्र बिनानै खाँडाचक्र नगरपालिकामा सातौं  तहको कर्मचारीको भुमिकामा  हाजिर गरि कामकाज समेत सुरु गरेका छन्।  

कानुन अनुसार अबिराज शाही अधिकृत स्तर सातौं तहमा बढुवा नभएको खण्डमा बढुवा सिफारीस गर्ने अधिकारी वा नगरप्रमुखको भोल गल्ती देखिने कानुनका जानकार बताउछन्।  

२०७९ सालमा  खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखमा कार्यरत रहदा अबिराज शाहीले  श्रीमतीलाई आफै नियुक्ति दिएर जागिर खुवाएको आरोप छ।

उनले २०७८ साल फागुन १ गते वाट तलब पाउने गरी सामाजिक परिचालक तह पाँचौँमा आफ्नी श्रीमती प्रगति ठकुरीलाई नियुक्ति दिएर आफै हाजिर लगाउने र तलब भत्ता श्रीमतीको खातामा जाने सम्मको सेटिङ मिलाएका थिए।  

यस्तै बेथितीलाई देखाएर  स्थानीय समाजसेवी हिक्मतजंङ मल्लले भने -‘खाँडाचक्र नगरपालिका सेटिङको भरमा चल्ने गरेको छ।’  उनले भने, ‘अहिले पनी आफुखुसी बिभिन्न निर्णय गरेर अबिराज शाहीलाई अधिकृत सातौं तहमा बढुवा गराएको पाइएको छ।’  अबिराज शाही  भन्दा प्रशासन तर्फ अन्य सिनियर कर्मचारी हुदाहुँदै उनलाई अधिकृत सातौं तह भनेर सिफरिस गरिनु गलत भएको उनको भनाई छ।  

नगरपालिकाका कर्मचारी नै यो विषयमा विभाजित छन्, अहिले पनी सातौं नभएकालाई यसरी आफुखुसी निर्णय गर्दा आफुहरु चेपुवामा परेको एक कर्मचारीले बताए । उनले भने, ‘नगरपालिकामा उनी भन्दा अन्य कर्मचारी सिनियर छन्, कार्यकारी जस्तो पदको हेलचेक्र्याही भएको छ।’  

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने यस्तो विषय गम्भीर भएको जनाएको छ।नियुक्त पत्र नपाएको खण्डमा उनलाई कार्वाही हुने जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८१ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App