भर्खरै पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दुई घण्टा अघि नै आफू पक्राउ पर्ने आशङ्का गरिसकेका थिए । प्रसाईँले मंगलबार बिहान १० बजेपछि आफू पक्राउ पर्न लागेको फेसबुकमा लेखेका थिए ।
‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै प्रसाईँले उक्त स्ट्याटस राखेका छन् ।
जसमा उनले लेखेका छन्, ‘हिजो मैले कम्बोडियामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ ।’ त्यसको दुई घण्टा नबित्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले उनको भक्तपुर स्थित घरमै पुगेर पक्राउ गरेको छ ।
आफूमाथि साइबर क्राइम लाग्न सक्ने प्रसाईँको शङ्का थियो । ‘मलाई साइबर क्राइम, राज्य द्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु,,’ उनले आफ्ना समर्थकलाई आग्रह गरेका छन् । प्रसाईँलाई साइबर अपराधमै पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ पर्नुअघिको स्ट्याटसका प्रसाईँले आन्दोलनको आँधीबेहरीका लागि तयार रहनुहुन आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।
प्रहरी पक्राउ गरेर उनलाई अनुसन्धानका लागि सिआइबी ल्याइरहेको छ ।
प्रसाईँमाथि यसअघि पनि साइबर अपराधमै एक मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की एक नेतृले आफूमाथि गाली बेइज्जती गरेको भन्दै प्रसाईँमाथि जाहेरी दिएकी थिइन् । जसअनुसार पक्राउ परेर उनी धरौटीमा छुटेका थिए ।
प्रकाशित: ४ मंसिर २०८१ १३:०७ मंगलबार