सरकारले सवारी चालकको चेकजाँचमा अझ कडाई गर्ने भएको छ।
आईतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकले बोलाउनुभएको दुर्घटना न्युनिकरण सम्बन्धी बैठकले सो निर्णय गरेको हो।
सवारी दुर्घटना नियन्त्रणका लागि सवारी चालकहरुले मादक पदार्थ, लागुपदार्थ सेवन गर्न नदिन लागि चेकजाँचमा कडाई गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
त्यसैगरी बैठकले यातायात व्यवसायीहरुलाई पनि सवारी चालकहरुलाई आवश्यक तालिमको तत्काल व्यवस्था मिलाउन सचेत गराएको छ। प्रवक्ता तिवारीका अनुसार सवारी दुर्घटना नियन्त्रणका लागि सिट भन्दा बढि यात्रु नराख्ने, यात्रु बाहक सवारी साधनमा मालसामान ढुवानी गर्न नहुनेलगायतका निर्णयहरुलाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ।
प्रवक्ता तिवारीले भने, ‘आज माननीय गृहमन्त्रीज्युको अध्यक्षतामा सवारी दुर्घटना नियन्त्रण सम्बन्धमा सरोकारवाला सम्पूर्ण निकायहरुबीच हामीले छलफल ग¥यौं। खासगरी यस छलफलमा मुलतः सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने गरेकोमा त्यसलाई सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने गरी व्यवस्था मिलाउने गरी हामीले निर्णय गरेका छौं। त्यससँगसँगै प्रयोजन अनुसार सवारी साधनहरु चलाउने। त्यसको अर्थ के हो भने मालसामान ढुवानी गर्ने साधनमा यात्रु र यात्रु बहाक साधनमा मालसामान ढुवानी नगर्ने गरी त्यसलाई पनि कार्यान्वयन गर्नेगरी अगाडि बढेको अवस्था छ। त्यसैगरी मादक पदार्थ सेवन, लागुपदार्थ सेवन गरेर जुन सवारी साधनहरु चलाउने प्रवृत्ति देखिएको छ। त्यसलाई नियन्त्रण गर्न अझ चेकजाँचलाई कडाई गर्ने। र, लामो दुरीमा २ जना चालकहरुलाई अनिवार्य राख्ने र ओभर स्पिडलाई नियन्त्रण गर्ने निष्कर्ष आजको छलफलले निकालेको छ। त्यो अनुसार कार्यान्वयन गर्नका लागि तत्कालै कार्ययोजना बनाएर काम गर्नेगरी निर्णय भएको छ। लाईसेन्सलाई अझ प्रभावकारी बनाउन र चालकहरुलाई तालिमलगायतको व्यवस्था गर्न यातायात व्यवसायीहरुले पनि संचालन गर्ने र त्यसमा यातायात व्यवस्था विभागले समन्वय गर्नेगरी निर्णय भएको छ।’
सरकार र सरोकारवाला निकायबीच सवारी साधन दुर्घटना नियन्त्रणका लागि विगतमा भएको सहमती पनि कार्यान्वयन गर्न बैठकले जोड दिएको गृह मन्त्रालयले जनाएको छ।
प्रकाशित: २ मंसिर २०८१ १७:४६ आइतबार