मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको आइतबार बिहान ३ बजेतिर मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए।
उनका अनुसार दुवै खुट्टामा घाउ भएर पाकेपछि अमातलाई उपचारका लागि कात्तिक २१ गते साँझ विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो। अमातलाई मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी पुरानै समस्या रहेको बरालले बताए। अस्पतालको आइसियुमा उपचाररत अमातको मृत्यु भएको हो।
‘घर भाडा दिलाइ घर खाली गराइ पाउँ’ भन्ने मुद्दामा मोरङ जिल्ला अदालतले उनलाई गत असोज १३ गते दोषी ठहर गर्दै २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। भाडा लिएर बसेको घर खाली गर्न नमानेको र भाडा नतिरेको भन्दै अमातविरुद्ध घरधनीले मुद्दा हालेका थिए।
अमातले घरधनीलाई भाडाबापत ९ लाख रुपैयाँ तिर्न बाँकी रहेको अदालतले यकिन गरेको छ। अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहँदा बिरामी भई उपचाररत अवस्थामै मृत्यु भएको जेलर बरालले बताए। उनका अनुसार शवलाई परिवारका सदस्यले दाहसंस्कारका लागि लिएर गइसकेका छन्।
प्रकाशित: २ मंसिर २०८१ १७:१३ आइतबार