समाज

बढुवाको माग गर्दै सुरु भएको आन्दोलन एकदिनमै स्थगित

.

.

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका शिक्षक र कर्मचारीहरुले बढुवाको माग गर्दै सोमबारबाट सुरु गरेको आन्दोलन एकदिनमै स्थगित भएको छ।

मंगलबार प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षक–कर्मचारीबीच भएको छलफलपछि आन्दोलन स्थगित भएको हो। प्रतिष्ठानको कार्यकारी परिषद्ले उनीहरूको स्तरवृद्धि गर्ने प्रस्तावलाई सभामा लैजाने निर्णय गरेपछि उनीहरुले आन्दोलन रोकेका हुन्।

प्रतिष्ठानका लेखा अधिकृत इन्द्रराज डाँगीले कार्यकारी परिषद्ले शिक्षक–कर्मचारीको स्तरवृद्धि निर्णय सभामा पेस गर्न सहमति जनाएपछि आन्दोलन स्थगित भएको जानकारी दिए।

उनले भने, ‘कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनसँगै शिक्षक–कर्मचारीका माग सम्बोधन हुनेमा हामी विश्वस्त छौं।’

शिक्षक–कर्मचारीहरुले प्रेस विज्ञप्ति मार्फत सभामा बढुवा निर्णय अनुमोदन हुने आशा व्यक्त गरेका छन्। उनीहरुले भनेका छन्, ‘यदि सभाले बढुवा निर्णय पारित नगरेको अवस्थामा पुनः आन्दोलनका कार्यक्रम यथावत् अघि बढाइनेछ।’

स्थायी रुपमा कार्यरत शिक्षक–कर्मचारीहरुले लामो समयदेखि स्तरवृद्धि तथा तलब भत्तामा अन्याय भइरहेको भन्दै आवाज उठाइरहेका छन्। गत भदौ २६ मा अदालतले पनि उनीहरूको पक्षमा फैसला गरेको थियो।

अदालतले लोकसेवा आयोग लगायतका सरोकारवालासँग परामर्श गरी बढुवा प्रक्रियालाई छिटो कार्यान्वयन गर्न आदेश दिएको थियो।

 

यो पनि पढ्नुहोस्

बढुवा माग गर्दै आन्दोलनमा उत्रिए ५८ शिक्षक-कर्मचारी

 

प्रकाशित: २७ कार्तिक २०८१ १९:३४ मंगलबार