समाज

फाल्गुनन्द जन्मिएको इलाममा जन्मजयन्ती विशेष मनाइँदै

राष्ट्रिय विभूति तथा किरात धर्मगुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती उनको जन्मजिल्ला इलाममा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विशेषगरी किरात धर्मावलम्बीले समाज सुधारक फाल्गुनन्दको जन्मजयन्ती मनाउँदैछन्। इलामको इलामको सन्दकपुर गाउँपालिका वडा ४, माबुको हाङ्मादिनमा अहिले विशेष कार्यक्रम आयोजना गरिएको छ।

फाल्गुनन्दको जन्मजयन्ती मनाउन किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल इलामको लारुम्बामा रहेका किरात धर्मगुरु आत्मानन्द लिङ्देन केहीबेरअघि हेलिकप्टरमार्फत् माबु पुगेका छन्।

जन्मजयन्ती समारोहको सबै तयार पूरा भएको आयोजकले जनाएको छ। माबुमा किरात फाआप मिङ्सो माङ्हिम उद्घाटन गरिँदैछ। करिब एक करोड लगानीमा सम्पन्न माङहिम २०७३ माघ ३० मा शिलान्यास गरिएको थियो।

यहाँ नवनिर्मित फाल्गुनन्दको पूर्णकदको सालिकसमेत अनावरण गरिँदैछ। सम्मानपत्र वितरण, कृति विमोचन तथा विभिन्न जातीय धार्मिक, संस्कृतिक झाँकी प्रदर्शनीका कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ। भरे साँझ एक हजार एक सय आठ दीप प्रज्वलन, माङलाङ केलाङलगायत विभिन्न कलाकारको सांगीतिक प्रस्तुतिसमेत राखिएको आयोजकले जनाएको छ।

जन्मजयन्तीका कार्यक्रम कात्तिक २२ देखि नै चलिरहेका छन्। त्यसका लागि कात्तिक २२ देखि २५ सम्म यहाँ मदिरासमेत निषेध गरिएको वडाध्यक्ष ढालबहादुर गुरुङले बताए। वडाले सूचना नै जारी गरी पूर्वमा धुवाँखोला, पश्चिममा तीनकुने, उत्तरमा भीरगाउँ र दक्षिणमा हाङ्मादेनभित्रको क्षेत्रमा मदिराजन्य वस्तु विक्री, वितरण, सेवन र ओसारपसारमा प्रतिबन्ध गरेको थियो।

जन्मजयन्ती मनाउन कात्तिक २२ मा गालीश्राप बहन्ती (साकमुरा वदेम्मा सेवा), २३ मा येत लाधुङ नाम्धुङ सेवा, २४ मा विश्व शान्ति तथा मानव एकता र चराचर जगतको शान्ति कामना गर्दै येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको छ।

किरात धार्मिकस्थल इलामको माङ्सेबुङदेखि विभिन्न नगर र गाउँ, झापा, पाँचथर, ताप्लेजुङ, पाँचथर, धनकुटा, सुनसरी, मोरङलगायत जिल्लामा पनि विविध कार्यक्रम आयोजना गरिएका छन्।

नेपालका दर्जनौं जिल्लासहित भारत, अमेरिका, भुटान, हङकङ, बेलायत, अस्ट्रेलिया, मलेसिया, कतार, दुबई, साउदी, ब्रुनाई, कोरिया, जापान, क्यानडा, साइप्रसलगायत विभिन्न देशमा समेत किरात धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउने गरिएको छ।

फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ मा इलामको माङ्सेबुुङ गाउँपालिका–२ (साविक इभाङ गाविस–५), चुुक्चिनाम्बामा भएको थियो। किरात लिपि, भाषा, संस्कार, संस्कृति र समाज सुधारका लागि फाल्गुनन्दले योगदान गरेका छन्।

२००५ चैत २२ मा उनको निधन भएको थियो। उनले १९८८ वैशाख २४ मा स्थापना गरेको ‘सत्यहाङ्मा (धर्म) मुचुल्का’को नीति ऐतिहासिक सम्पत्तिका रूपमा मानिन्छ। सरकारले २०६६ मंसिर १६ मा फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो। उनको फोटो अंकित हुलाक टिकटसमेत प्रचलनमा छ।

फाल्गुनन्दको जन्मजयन्तीमा आज कोशी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

प्रकाशित: २५ कार्तिक २०८१ ११:१० आइतबार

#falgunanda