समाज

तीनजनाको निम्तोमा ३० जना अजरबैजान जाँदै

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९)

अजरबैजानमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालबाट तीनजना सहभागी हुनुपर्नेमा ३० जना जाने भएका छन्। वन तथा वातावरण मन्त्रालयले कुनै पनि भूमिका नभएका दुई दर्जनभन्दा बढी कर्मचारी र असम्बन्धित व्यक्तिलाई विज्ञका रूपमा मनोनयन गरेर ३० जनालाई ‘युनाइटेड नेसन्स क्लाइमेट चेन्ज फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी)’ मा सहभागी गराउने भएको हो।

सम्मेलनमा भाग लिन जानेमा कर्मचारीसँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीका स्वकीय सचिव लेकविक्रम शाही र छोरा राजेन्द्र शाही पनि छन्। सम्मेलनमा मन्त्री, सचिव र महाशाखा प्रमुख एकजनाबाहेक अन्य कुनै कर्मचारीको काम नभएको मन्त्रालयका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार कुम्भ मेला भएकाले मन्त्रालयका कर्मचारी विभिन्न विकास साझेदार अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोग मागेर त्यहाँ जान लागेका हुन्।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले सम्मेलनमा केही कर्मचारी जान लागेको पुष्टि गरे। ‘सबै सम्बन्धित कर्मचारी नै जानुहुन्छ तर आयोजक संस्थाले तीनजनाको मात्रै खर्च बेहोर्नेछ’, उनले भने।

अन्यको खर्चबारे जिज्ञासा राख्दा उनले त्यस सम्बन्धमा आफूलाई जानकारी नभएको बताए। ‘अन्यका बारेमा मलाई जानकारी छैन, जान चाहने साथीले खर्चको व्यवस्थापन गर्नुभएको होला। यसअघिका सम्मेलनमा यसैगरी जाने गरेकाले अहिले त्यसको निरन्तरता मात्रै हो’, ढुंगानाले भने। विकास साझेदार संघसंस्थाहरूको प्रायोजनमा विदेश घुम्दा नेपाल सरकार र कर्मचारीको शिर कसरी उँचो रहन्छ भन्ने प्रश्नमा यो विषयमा आफूलाई जानकारी नभएको भन्दै उनी पन्छिए। मन्त्रालयका ती कर्मचारीका अनुसार विभिन्न विकास साझेदार संस्थालाई दबाबमा राखेर कर्मचारीहरू विदेश घुम्न जान लागेका हुन्।

कात्तिक २६ देखि मंसिर ७ सम्म अजरबैजानको बाकु सहरमा हुने उक्त सम्मेलनमा सहभागी हुने कर्मचारीको सूची तयार भइसकेको र केही गइसकेका छन्। मन्त्रालय स्रोतका अनुसार वन तथा वातावरणमन्त्री शाही, राज्यमन्त्री रूपा विकसहित ३० जना कर्मचारी मन्त्रालयबाट बाकु जाने भएका हुन्।

‘युएनएफसिसिसीका विभिन्न निकायमा भएका सदस्य तथा विज्ञबाहेक अन्य सहभागीको त्यहाँ कुनै काम हुँदैन’, मन्त्रालयका ती कर्मचारीको दाबी छ। विकास साझेदारसँग सहयोग मागेर सम्मेलनमा जाने परम्परा गलत रहेको ती कर्मचारीको भनाइ छ। ‘सहयोग माग्नु भनेको उनीहरूको अनुकूल काम गरिदिन्छौं भन्ने हो। यसरी सहयोग लिएर गएपछि ती साझेदार संस्थाका प्रतिनिधिले मन्त्रालयका कर्मचारीलाई हेप्ने गरेका छन्’, ती कर्मचारीले भने।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धु ढुंगाना भने अजरवैजान पुगिसकेको ती कर्मचारीले बताए।

मन्त्रालयका तर्फबाट जान लागेका मध्ये सिन्धु युएनएफसिसिसीको फोकल पर्सन पनि हुन्। त्यसैगरी मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेल अतिकम विकसित देशहरूको समूह (एलडिसी) का सदस्य छन्। महेश्वर ढकाल हानि–नोक्सानी (लस एन्ड ड्यामेज) मा छन्। मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका नवराज पुडासैनीले कार्बन व्यापारको विषयमा काम गरिरहेका छन्।

जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव नरेश शर्मा एड्प्टेसन फन्ड बोर्डको सदस्य छन्। ‘युएनएफसिसिसीअन्तर्गतका निकायका सदस्य, फोकल पर्सन र विषय विज्ञबाहेक अरू कसैको कुनै भूमिका छैन, अझ भन्ने हो भने मन्त्रीले भाषण गर्ने हो, सचिव र महाशाखा प्रमुखबाहेक अन्यको कुनै जिम्मेवारी र भूमिका छैन’, ती कर्मचारीले भने, ‘लाजमर्दो छ, वन मन्त्रालयमा कात्तिक २६ पछि कर्मचारी नै सिला खोज्नुपर्ने हुन्छ।’  

यतिधेरै कर्मचारी किन जान लागेका हुन् भन्ने प्रश्नमा प्रवक्ता ढुंगानाले धेरै विषयमा साइडलाइन वार्ता हुने भएकाले त्यसमा सहभागिता जनाउनुपर्ने भएकाले जान लागेको जवाफ दिए। ‘पाँचवटा महाशाखा नै छन्। तिनका शाखामा रहेका कर्मचारीको पनि सहभागिता हुन्छ। भोलिका दिलनमा अनुभव लिन काम लाग्छ भनेर जान लाग्नु भएको हो। यसलाई अन्यथा मान्न मिल्दैन’, उनले भने। द्विपक्षीय बैठक तथा साइड–इभेन्टसम्म पनि भूमिका नहुने प्रशासन, लेखा, कानुनसहितका कर्मचारी, मन्त्री शाहीको सचिवालयका कर्मचारी र उनका छोरा पनि सम्मेलनमा सहभागी हुँदैछन्।

स्रोतका अनुसार मन्त्रालयका तर्फबाट सम्मेलनमा सहभागी हुनेमा मन्त्री, राज्यमन्त्री, सचिव दिपक खराल, सहसचिव बुद्धिसागर पौडेल, महेश्वर ढकाल, सिन्धु ढुंगाना, रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनी, वनस्पति विभागका महानिर्देशक सञ्जीव राई, वन तथा भू संरक्षण विभागका सहसचिव धनन्जय लामिछाने, प्रशासनतर्फका सहसचिव भूपाल बराल, कानुनतर्फका उपसचिव महेन्द्र शाही, लेखाका उपसचिव दिपक अधिकारी, प्रशासनका उपसचिव शोभाखर रेग्मी, प्रशासनकै शाखा अधिकृत गंगा पाण्डे, खेम काफ्ले, नारायण रायमाझी, जलवायु परिवर्तन महाशाखाका उपसचिवहरू नरेश शर्मा, राजु सापकोटा, शिव खनाल, सुमन सुवेदी, हरि शर्मा, प्रकाश थापा, दीपा वली, प्राविधिक अधिकृतहरू हिमाल शिवाकोटी, शीला ज्ञवाली, प्रकाश लामिछाने, नारायण पोखरेल, अमृत शर्मा, कानुन अधिकृत जनकाराज शाही, वन तथा वातावरणमन्त्री शाहीका स्वकीय सचिव लेकविक्रम शाही, मन्त्रीका छोरा राजेन्द्र शाही छन्। उनीहरूबाहेक पनि केही कर्मचारी, सञ्चारकर्मी र विज्ञ सम्मेलनमा सहभागी हुँदैछन्।

प्रकाशित: २३ कार्तिक २०८१ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App