समाज

सबै समुदायलाई जोड्दै छठ

कपिलवस्तुको रामघाट नदीमा पुजाको क्रमममा सूर्यको पूजा गरिँदै।

तीन दशक अघि सम्म पूर्वी जिल्लाबाट नोकरीका लागि कपिलवस्तु आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्थ्यो। त्यस बेला छठ बारे जिल्लामा त्यत्ति उल्लास समेत हुँदैन थियो। तर अहिले भने कपिलवस्तुमा छठ साझा, एकता, समावेशी पर्वको प्रतीक बन्दै गएको छ। मूल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवामा विभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ विगत १० बर्ष यता जिल्लाका विभिन्न जातजातिहरूले समेत छठ पर्व मनाउने गरेका छन्। अहिले भने छठ पर्व जिल्लामा साझा एकता समावेशी र सदभावको बनेको हो। अहिले जिल्लाका तौलिहवाका रामघाट र जमुहार नदी, बहादुरगंज कृष्णनगर लगायतका विभिन्न स्थानमा मनाउने गरीएको छ।

मैथिली अवधि, भोजपुरी  र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो। 

विशेष गरी पूर्वका मधेसी समुदायले मात्र अङ्गालिएको छठ पहाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाइएको छ। अराध्य देव सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व आउने शुक्रवार  सुरु भई  सोमवार सम्पन्न हुँदै छ। बिहीबार परेको छठको पुजाकालागि विशेष घर घरमा विशेष तयारी समेत गरिएको छ। जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चार नम्बर, चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउनेको संख्या  हरेक बर्ष वृद्धि हुँदै गएको छ।

अधिकारकर्मी रबि ठाकुरले विगत १० बर्ष अघि सम्म पूर्व जिल्लाबाट कपिलवस्तु आएका परिवारले मात्र छठ पर्व मनाउने गरेको बताए। तर विगत केही बर्ष यता छठ पर्व जिल्लाका हिन्दु नेवार, मुस्लिम समुदायले समेत मनाउन थाले पछि यसले मैथिली, अवधि  भोजपुरी र पहाडी लाई जाेड्ने काम गरेको बताए। कपिलवस्तु नगरपालिका– १ की नेवार समुदायकी समा  शाक्यले एक  दशक अघि देखि छठ पर्व मनाउँदै गएको बताईन। माइती घरमा छठ पर्वको बारेमा सुने पनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरूसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाइलो लाग्ने गरेको बताईन।

विभिन्न जात जातिहरुले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन्। कपिलवस्तु नगरपालिका की बिन्दबासिनी हरिजनले जमुहरा नदीमा सबैसँग सामूहिक पूजा गर्ने गरेको बताईन। यस पटक पनि छठ पुजाको तयारी गरेकी उनले मधेसी पहाडी सबै जातजातिसँग सामुहिकरुपमा पर्व मनाउन पाउँदा खुसी लागेको बताईन।

‘सबै जना नदीमा गएर पूजा गर्छौ कुनै भेदभाव छैन,’ उनले भनिन। उनले छठ पर्वले जिल्लामा धार्मिक सदभाव समेत कायम गरेको बताईन। छठ पर्व आफ्नो पुरै परिवार र छिमेकीहरू सित मिलेर एकैसाथ मनाउने गरेको उनले सुनाइन। कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष माहोम्मद जाहिद खाँले छठ पर्व जिल्लामा लोकप्रिय बन्दै गएको बताए। कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले छठ कपिलवस्तुमा लोकप्रिय बनेको बताए। उनले आफनै वडाका जमुहार र रामघाट नदीमा छठको सामूहिक पूजा गर्नेको संख्या हरेक वर्ष वृद्धि भइरहेको बताए।

विशेष शुद्धासुद्धी,  हर्ष– उल्लास, परिवार, मित्रहरू, आफन्तजनहरुसंग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको उनी बत्ताउँछन्। धनी, गरिब, हिन्दु मुस्लिम, महिला पुरुष, पहाडी मधेसी सबै वर्ग समुदायले अङ्गाल्न थालेको यो पर्वले मुलुकको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको भनाई छ। संचारकर्मी मनोज श्रीवास्तवले  जातीय, वर्गीय, मुद्दामा विभाजित वर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न यसले मद्दत मिल्ने बत्ताउँछन्।

पूर्वीय संस्कृतिमाथि बिस्तारै पश्चात्यको पकड बढिरहेको बेला यो पर्वको व्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वकोझन महत्त्व बढ्दै गएको मानवअधिकारकर्मी राम दयाल ठाकुर बत्ताउँछन्। यो पर्वको महत्ता र लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वकोरुपमा मान्यता दिनु पर्ने उनको माग छ। छठ पर्व वैज्ञानिक दृष्टिले समेत महत्वपुर्णरहेको केही चिकित्सकहरू बत्ताउँछन्।

उनीहरुका अनुसार विशेष गरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन सि पाइने भएकाले प्राणी फगतकालागि प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिरहेको हुन्छ। त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धी रोग निको हुने समेत जनविश्वास रहँदै आएको छ। छठ पर्वको पहिलो दिन अर्थात कार्तिक शुक्ल चौथीको दिन देखि सुरु हुने गर्दछ। पहिलो दिनलाई नहान खान भनिन्छ। यस दिन विशेष सुद्धासुद्धि अपनाइनछ। 

यस दिन देखि श्रद्धालुहरूले लसुन, प्याज, मसुरोको दाल, कोदो लगायतको परिकारहरूको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गरिन्छ। दोस्रो दिन अर्थात पञ्चमीलाई खरना भनिन्छ। यस दिन ब्रतानलुहरु दिनभरि उपवास बसी बेलुका चन्द्रमाको दर्शन गरी सकेपछि माटोको नयाँ चुलो र भाडामा सख्खर, दूध, र चामलको खीर पकाइन्छ। केराको पातमा राखेर खीर छठी मातालाई चढाइन्छ र त्यसलाई प्रसादकोरुपमा ग्रहण गर्ने गरिन्छ।

पर्वको तेस्रो दिन अर्थात षष्ठीलाई सझियाघाट भनिन्छ। पर्वको मुख्य दिनकारुपमा रहेको यस दिन बिहानै तेल र ध्युमा चामलको ठेकुवा र कसार लगायतका परिकार पकाई पाँच थरिका मिठाई, उखु, अदुवा, नरिबल, मुला, सुथनी, सुपारी, ल्वाङ,  सुकमेल लगायतका सामाग्रीहरू राखिन्छ। सो सामाग्रीहरू बासको टोकरी, सुपोमा राखेर जल, गाईको दूध सहित छठ पर्व मनाउने घाट वा जलासयमा पुगेर पुजापाठ गरी अस्ताउँदो सूर्यलाई अध्र्य दिई  घर फर्कने गर्दछन्। 

कतिपय व्रतालुहरू घर नफर्की रात भरी बस्ने गर्छन्। भाकल बसेका केही व्यक्तिहरूले माटोका देवी देवताका मूर्तिहरू बनाई पूजाआजा गर्छन् जसलाई कोशिया भनिन्छ। कार्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई अध्र्य दिए पछि यो पर्व बिधिवतरुपमा सम्पन्न हुने गर्दछ। छठ पर्वका बिषयमा विभिन्न कथा र किम्दन्ती रहेको पाइएको छ। सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको बताईन्छ।

यस्तै महाभारतमा पाँच पाण्डवले बसेको गुप्त वासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको थिइन । त्यही बेला देखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाई छ। पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडित बनेका साम्ब सूर्यको आराधनाबाट रोगमुक्त बने पछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको पण्डितहरू बत्ताउँछन्। 

४ दिन सम्म चल्ने छठ पर्वको कपिलवस्तु र बुद्धभुमी नगरपालिकाले तयारी पुरा भएको जनाएका छन्। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले छठ पर्वकालागि जमुहार र रामघाटमा सरसफाइ, छठ स्थलको निर्माण लाईटिङ लगायतका कुराहरूको व्यवस्थापन गरिएको बताए। जमुहरा र रामघाट नदीमा छठ पर्वमा बूतालुहरुकालागि पूजा गर्न गरी सबै व्यवस्था मिलाइएको उनले बताए।

रामघाटको वारी कपिलवस्तु नगरपालिका र पारी बुद्धभुभुमीनगरपालिकाले छठ पूजा स्थल निर्माण गरेको छ। कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का अध्यक्ष सन्दीप पाण्डेयले रामघाट पारी पुजापाठकालागि छठ घाटमा निर्माण कार्य गरेको बताए। 

प्रकाशित: २१ कार्तिक २०८१ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App