गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भत्किएको बिपी राजमार्ग स्थायी रूपमै पुनर्निर्माण गर्न सडक विभागले सर्भे र डिजाइको काम सुरु गरेको छ। सडक डिभिजन भक्तपुरले डिजाइन र सर्भेको काम सुरु गरिसकेको त्यहाँका प्रमुख सुमन योगेशले जनाए। उनका अनुसार कात्तिक तेस्रो सातासम्म सर्भे भएर पनि डिजाइनको अन्तिम रिपोर्ट तयार हुनेछ ।
यही कात्तिक ११ र १२ गते जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को टोली क्षतिग्रस्त बिपी राजमार्गको स्थलगत अध्ययन तथा अनुसन्धान गरेर फर्किएको छ। टोलीले रिपोर्ट बुझाउन कम्तीमा एक–डेढ महिना लाग्ने योगेशको भनाइ छ। ‘उहाँहरू स्थलगत अध्ययन गरेर फर्कनुभएको छ। जापान सरकारले आफैं बनाउँछ कि बनाउँदैन भन्ने विषय त्यसपछि मात्र टुंगो लाग्नेछ,’ उनले भने, ‘त्यतिबेलासम्म पनि हामी चुप लागेर बस्दैनौं। पुनर्निर्माणका लागि सर्भे–डिजाइनका साथै अन्य काम सुरु गरिसकेका छौं। जापान सरकारले बनायो भने हाम्रो रिपोर्ट बुझाउँछौं, नबनाए त्यही रिपोर्टका आधारमा स्थायी संरचना बनाउन सुरु गर्छौं ।’
उनका अनुसार दुई/अढाई महिनाभित्र स्थायी संरचना बनाउन डिभिजनले काम सुरु गर्नेछ। ‘नभए आगामी वर्षायाममा फेरि यस्तै समस्या हुनेछ। वर्षायाममा कम्तीमा यातायात अवरोध नहुने गरी काम सुरु गर्नेछौं,’ उनले भने।
विभागका उच्च कर्मचारीका अनुसार जापान सरकारले नै बिपी राजमार्गको पुनर्निर्माण गर्ने हो भने सम्पन्न हुन कम्तीमा चार/पाँच वर्ष लाग्छ। तर नेपाल सरकारले आफैं गर्ने हो भने दुई वर्षभित्र सक्नैपर्ने बाध्यता हुनेछ। एक सय ६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। त्यसका लागि जापानले २६ अर्ब जापानी येन खर्च गरेको थियो। २०७२ सालको भूकम्पबाट बिपी राजमार्गको केही भाग क्षतिग्रस्त बनेको थियो। क्षतिग्रस्त भूभागलाई पुनर्निर्माण गर्न १८ महिना लागेको थियो। जाइकाले २०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरेको थियो ।
विभागका अनुसार अब पुनर्निर्माण गरिने ठाउँमा सडक दुई लेनको हुनेछ। सरकारले बिपी राजमार्ग पुनर्निर्माणका लागि तीनवटा अवधारणा बनाएको छ। भत्किएको ठाउँमा खोलाको बगरमै दुई लेनको पुल बनाउने सरकारको पहिलो अवधारणा हो।
यसरी पुल बनाउँदा सडक बलियो हुनेछ। विभागका इन्जिनियरहरूका अनु्सार सबैभन्दा बलियो संरचना भनेको पुल बनाउनु नै हो। भत्किएको सबै ठाउँमा पुल बनाउने हो भने १२ किमि लामो हुनेछ। तर त्यो काम निकै खर्चिलो हुने मन्त्रालयको भनाइ छ। पुल बनाइसकेपछि बाढीको धारले पहाडको भित्ता काट्दा पनि सडकलाई क्षति गर्दैन।
अर्को अवधारणा भनेको भित्ता काटेर सडक बनाउने अवधारणा हो। अहिले धेरैजसो पहाडी क्षेत्रमा भित्ता काटेर सडक बनाउने गरिएको छ। तेस्रो अवधारणा भनेको तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने हो। जापान सरकारले यस्तै तरिकाले बिपी राजमार्ग तयार गरेको हो।
‘भत्किएका ठाउँहरूमा सयदेखि एक सय पचास मिटरसम्मका पुल ठाउँठाउँमा बन्नेछन्। ती सबै पुलको लम्बाइ जोड्दा दुई–तीन किलोमिटरसम्मको हुन सक्छ,’ योगेशले भने।
जापान सरकारले पुनर्निर्माण गरेन भने नेपाल सरकारले आफ्नै खर्चमा भए पनि बिपी राजमार्ग पुनर्निर्माण गर्ने भएको छ। यसको पुनर्निर्माण गर्न साढे ७ अर्ब रूपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान विभागका उच्च कर्मचारीहरूले गरेका छन्।
बिपी राजमार्गको सबैभन्दा बढी क्षति चौकीडाँडा देखि नेपालथोकसम्म छ। यसखण्डको २८ किमि सडकमध्ये १२ किमि सडक पूर्ण रूपमा क्षति भएको छ। अब बन्ने १२ किमि सडक नै दुई लेनको हुनेछ। यसैगरी भत्कन लागेको तर भत्किनसकेको सडक पनि दुई लेनकै हुनेछ। सबै जोड्दा १५/२० किमिभन्दा लामो सडक दुई लेनको हुने अनुमान विभागका कर्मचारीहरूले गरेका छन्।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार वर्षाका कारण देशभरि ३४ वटा राजमार्गका आठ सय पाँच ठाउँमा पहिरो गई सडक अवरुद्ध भएको थियो। तीमध्ये सबैभन्दा जटिल समस्या बिपी राजमार्गमा देखिएको थियो। अवरुद्ध भएको बिपी राजमार्गलाई खुलाउन विभागका कर्मचारीहरूले निकै मिहिनेत गरेका थिए। जसका कारण दसैंअगाडि नै उक्त राजमार्ग खुलेको थियो ।
प्रकाशित: २० कार्तिक २०८१ ०७:५१ मंगलबार