समाज

बलात्कार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरीमाथि अनुसन्धान जारी

बलात्कार मुद्दामा नियन्त्रणमा रहेका दुई सशस्त्र प्रहरी मध्य एक जना माथि अनुसन्धान भइरहेको छ भने एक जनाले प्रहरी हिरासत कक्ष भित्रै आत्महत्या गरेका छन्।

भालुवाङका १४ र ८ बर्षिया दुई बालिकालाई गत असोज २४ मा बलात्कार गरेको आरोपमा भालुवाङ स्थित सशस्त्र प्रहरी बल ज्वाला माइ गणमा कार्यरत एक जना सशस्त्र प्रहरी हवलदार र एक जवानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा रहेका सशस्त्र प्रहरी हवलदार माथि अहिले पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनी माथि दोस्रो पटक म्याद थप गरेर प्रहरीले अनुसन्धानलाई जारी राखेको हो। ‘पक्राउ परेका एक जना माथि अहिले पनि अनुसन्धान चलिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले भने ‘अनुसन्धानको प्रकृया चलिरहेकाले अहिले नै घटना संलग्नता बारे आधिकारिक भन्न सकिने अवस्था छैन।’ अनुसन्धान पुरा भएपछि थप कानुनी प्रक्रियाका आधारमा अगाडी बढ्ने एसपी तिमिल्सिनाले जानकारी दिए।

हाल थुनामा रहेका सशस्त्र प्रहरीका हबलदारसँगै प्रहरी नियन्त्रणमा रहेका सशस्त्र प्रहरीका जवानले भने केही दिन अघि प्रहरी हिरासतभित्रै आत्म हत्या गरेका छन्। गत १२ गते वडा प्रहरी कार्यालयको घोराहीको हिरासत भित्रै उनले आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनले गल्ती स्वीकार गरिसकेका थिए। कात्तिक ११ मा उनले आफूले बालिका माथि बलात्कार गरेको बयानका क्रममा स्वीकार गरेका थिए। त्यसको अर्को दिन बिहान सवा ५ बजेतिर उनले आत्महत्या गरेको एसपी तिमिल्सिनाले जानकारी दिए। बलात्कार मुद्धामा गल्ती स्वीकार गरेपछि ग्लानि महशुस भएर उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

एसपी तिमिल्सिनाका अनुसार थुनामा रहेका सशस्त्र प्रहरीका जवान प्युठानका रेवन पचभैया मगरले शौचालयको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए। प्रहरीका अनुसार उनले आफूले लगाएका कपडा च्यातेर पासो लगाएका थिए। ‘शौचालयको भेन्टिलेसनमा आफूले लगाएको कपडा च्यातेर पासो बनाएको रहेछ,’ एसपी तिमिल्सिनाले भने ‘बिहान झुन्डिएको अवस्थामा शव फेला परेको हो।’

प्रहरीका अनुसार बिहान ५ बजेतिर उनी शौचालय छिरेका थिए। शौचालय छिरेपछि उनले पानीको धारा खोलेका थिए। शौचालयको आवाज बाहिर नसुनियोस् भनेर उनले धारा खोलेका थिए। धेरै बेर सम्म धारा खुलै रहेपछि प्रहरीले अन्य थुनुवाहरूलाई शौचालयको धारा बन्द गर्न भनेका थिए। उनी सँगै रहेका अन्य ६ थुनुवा मध्य एक जना थुनुवाले शौचालयमा गएर हेर्दा प्रहरी जवान मृत अवस्थामा फेला परेका थिए। ‘बिहान सवा ५ बजेतिर शौचालयमा गएका उनले पानीको धारा खोलेका रहेछन् , धारा धेरै बेर सम्म खुलै भएपछि धारा हेर्न भनियो,’ वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज सेनले भने ‘शौचालय भित्र गएर हेर्दा सशस्त्रका प्रहरी जवान मृत अवस्थामा फेला परेका थिए।’

गत असोज २४ गते भालुवाङका २ बालिका माथि बलात्कार भएको थियो। भालुवाङ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गणले हालेको पिङ खेल्न गएका १४ बर्षिया र ८ बर्षिया बालिका बलात्कृत भएका थिए। यो घटनामा सशस्त्र प्रहरीकै जवानहरू संलग्न रहेको आशंका गरिएको थियो। पीडितहरूले समेत आफूहरूलाई ‘पुलिसहरू’ ले बलात्कार गरेको परिवारलाई जानकारी गराएका थिए। सशस्त्र प्रहरीकै जवान यो घटनामा संलग्न भएको चर्चा बाहिर आएपछि सशस्त्र प्रहरी बलले आफ्नो तर्फबाट पनि अनुसन्धान थालेको थियो। सशस्त्र प्रहरीले थालेको अनुसन्धानका क्रममा पचभैया र अर्का एक जना सहायक हवलदार संलग्न रहेको आशंका गरिएको थियो। उनीहरूको संलग्नता भएको आशंका भएपछि सशस्त्र प्रहरी बलले नै उनीहरू माथि थप अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको जिम्मा लगाएको थियो। दुई जनालाई गत ७ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो। 

प्रकाशित: १९ कार्तिक २०८१ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App