समाज

स्व नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार मानव सेवा आश्रमलाई

यस वर्षको स्व नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ।पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरद्वारा सञ्चालित उक्त पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आश्रमलाई प्रदान गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

पुरस्कारका लागि पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुशील बस्नेत,पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सिना, सल्लाहकार खिमलाल अधिकारी र संस्थापक मध्यवाट यादवचन्द्र देवकोटा सदस्य रहेकोे छनौट समिति गठन गरिएको थियो।

समितिले गरेको निर्णयलाई अनुमोदन गर्दै नगद १५ हजार र सम्मानपत्रसहित यही कात्तिक २२ गते आयोजना हुने २८औं स्थापना दिवसको मुल समारोहमा आश्रमलाई पुरस्कार प्रदान गरिने सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए।

यो पुरस्कार यसअघि उद्योगपति गणेशबहादुर श्रेष्ठ, तेजबहादुर गुरुङ, लायन स्व गोविन्दबहादुर केसी,अग्रज भलिवल खेलाडी स्व उदयबहादुर बस्नेत, सिद्घार्थ क्लब र नव आर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिसकिएको छ।

कार्यक्रमकै अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं १६ भित्रका सरकारी विद्यालयवाट कक्षा १२ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने बिन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशीष पोखरेललाई जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

क्लबले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही पाँच हजार प्रदान गरिने छ। समाजसेवी कृष्णप्रसाद अधिकारी र प्रभा कोइरालाद्वारा स्थापित नगद पाँच हजार राशीको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार चमेरी गुफा कृषक समुहलाई प्रदान गरिने जनाइएको छ।

स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको र त्यसका अवसरमा अवसरमा २७औँ रक्तदान तथा चियापान,विभिन्न पुरस्कार, सहयोग वितरण तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष मोहनबहादुर थापाले बताए।  

प्रकाशित: १६ कार्तिक २०८१ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App