समाज

वैकल्पिक लोकमार्ग निर्माणस्थलमा बम फेला

गाईघाट – राष्ट्रिय गौरवको निर्माणाधिन आयोजना धरान–चतारा–गाईघाट–सिन्धुली–हेटौडा लोकमार्गको गाईघाट खण्डमा बम फेला परेको छ।

लोकमार्गको गाईघाट–कटारी खण्डमा निर्माणाधिन सडक त्रियुगा नगरपालिका ७ चुहाडेस्थित क्रसर उद्योग परिसरमा आइतबार विहान १ थान सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

लोकमार्गमा आवश्यक गिटी, ढुंगा र रोडा उत्पादन गर्न सञ्चालनमा ल्याइएको जेडआईसी÷शर्मा÷लामा जेवीको क्रसर कारखानामा बम फेला परेको स्थानीयले खबर गरे अनुसार इलाका प्रहरी कार्यालयबाट नायव निरीक्षक (सई) नेतृत्वको टोली खटाएर बम निश्क्रिय पारिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताएका छन्। 

इप्रका जलजलेबाट ५ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय गाईघाटबाट ९ किलोमिटर पश्चिममा रहेको घट्नास्थलको बम निस्कृय पार्न नेपाली सेनाको बोक्सेस्थित रणसार्दुल गणबाट डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ। बम कसले राख्यो भन्ने यकिन नभए पनि नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको अनुमान प्रहरीले गरेको छ। 

प्रकाशित: २५ चैत्र २०७४ ०६:२६ आइतबार

वैकल्पिक लोकमार्ग निर्माणस्थलमा बम फेला