समाज

‘घरघरमा भुस्याहा कुकुर पालेर गर्व गर्ने गरौं’

कुकुरलाई आज्ञापालक र बफादार मानिन्छ, तर यही आज्ञापालक र बफादार कुकुरहरूको अवस्था भने दयनीय छ। त्यसमा पनि अझ विशेष गरेर भुस्याहा कुकुरहरूको अवस्था त चिन्ताजनकै छ। यही विषयमा चिन्ता व्यक्त गर्दै आइतबार भक्तपुरमा एक छलफल कार्यक्रम गरियो।

एभरेस्ट इङलिस स्कुल भक्तपुर-२ मिवाछेंले गरेको कार्यक्रममा सहभागीहरूले भुस्याहा कुकुरलाई घरघरमा पालेर गर्व गर्न सक्नुपर्नेमा जोड दिए। सहभागीका अनुसार मानिसले किनेर ल्याएका विभिन्न जातका कुकुरलाई जस्तै भुस्याहा कुकुरलाई पनि घरघरमा पालेर उद्धार गर्न सके कुकुरहरूको दयनीय अवस्थामा न्यूनीकरण आउने छ। साथै उनीहरूलाई भुस्याहा कुकुर भनेर निम्न दर्जा दिनुभन्दा मायाममता दिनु प्रभावकारी हुने छ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आफूले पुलमुनि भर्खरै जन्मिएर अलपत्र अवस्थामा रहेको ककुरलाई घर लगेर उद्धार गरेको बताइन्। ‘पहिला म भक्तपुर नगरपालिका– १० कमलविनायक बस्दा पनि घरको कम्पाउन्डभित्र आएका र हामीसँग बस्न रुचाउने चार–पाँचवटा भुस्याहा कुकुरलाई घरमै पालेर संरक्षण दिएकी थिएँ’, उनले भनिन्, ‘अहिले सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा बस्दा पनि पुलमुनि भर्खरै जन्मिएर अलपत्र अवस्थामा रहेको कुकुरलाई ल्याई संरक्षण दिइराखेकी छु।’

भुस्याहा कुकुरलाई भुस्याहा भनेर अपमान गर्न नहुने भन्दै उनले आफ्नो कुकुरको नाम ‘कोको’ राखेको बताइन्। अहिले कोको पनि आफ्नो परिवारको एकजना अभिन्न अंग बनेको उनले सुनाइन्। अरूबेला कोकोलाई विशेष समय दिन नसके पनि कोभिडका बेला ऊसँग धेरै खेलेको स्मरण उनले सुनाइन्।

आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सडकमा अलपत्र रहेका कुकुरहरूलाई भुस्याहा नभनी सडक कुकुर वा समुदाय कुकुर नाम राख्दा उपयुक्त हुने सुझाए। उनले किनेर ल्याएर कुकुर पाल्नुभन्दा घाइते, अपांग र असक्त कुकुरलाई पालेर गर्व गर्न सके समस्या न्यूनीकरण हुने उनको भनाइ थियो।

कार्यक्रममा कुकुर तिहार पनि मनाइएको थियो। स्कुलले घाइते अवस्था (एउटा आँखा नदेख्ने) मा रहेर सहाराविहीन कुकुरलाई ल्याएर माला लगाई पूजाआजा गरी कुकुर तिहार मनाएको थियो। केही वर्ष अगाडिदेखि संरक्षण दिइराखेको उक्त कुकुरको नाम ‘सहारा’ राखिएको छ। सहारालाई स्कुलकी प्रिन्सिपल कमलादेवी राजभण्डारीले पूजा गरी केही खानेकुरा दिएर सम्मान गरेकी थिइन्।

कार्यक्रममा उक्त कुकुरलाई आधार बनाएर लेखिएको पुस्तक ‘सहारा’ को पनि विमोचन गरियो। पुस्तक सडक कुकुरहरूको हित अभियानमा लाग्दै आएकी विश्वविख्यात महिला डा. जुलु पालेए र प्रवेश राजभण्डारीले संयुक्त रूपमा लेखेका थिए। सो पुस्तक बालबालिकालाई उपयुक्त हुने गरी नेपाली र अंग्रेजी दुवै भाषा लेखिएको छ। साथै पुस्तकमा कुकुरसँग सम्बन्धित सामग्री पनि समावेश गरिएको छ।

नेपाल एनिमल वल्र्ड सिसर्च सेन्टर बनेपाका प्रमुख आनन्द दाहाल, भक्तपुर चाँगुनारायण नगरपालिका– ८ सुडालस्थित घाइते कुकुरहरूलाई उचित स्वास्थ्य सेवा प्रदान गर्दै आएको भक्तपुर जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरूले पनि आआफ्ना अनुभव सुनाएका थिए। कार्यक्रममा आयोजक स्कुलले कार्यालयका प्रतिनिधिहरूलाई स्कुलका तर्फबाट ११ हजार राशिको सहयोग रकमसमेत हस्तान्तरण गरेको थियो।

राष्ट्रिय गीतका रचयिता व्याकुल माइलाले आफ्नै एउटा घटना विवरण सुनाउँदै कुकुरहरूको अधिकारबारे समाज सचेत हुन थालेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले कुकुरलाई कुकुर तिहारमा मात्रै नभई वर्षैभरि सम्मान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कुकुरप्रतिको व्यवहार र संरक्षण विषयमा प्यानल छलफलसमेत गरिएको थियो। साथै स्कुलमा रहेका लाइका, जुली, स्यासलगायतका कुकुरबाट रोमाञ्चक डग शो (कुकर प्रदर्शनी) पनि गरिएको थियो। साथै ककुरकै बारेमा छोटो नाटक पनि मञ्चन गरिएको थियो।

प्रकाशित: १२ कार्तिक २०८१ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App