समाज

जुवामा धमिलिँदै ‘प्रहरी छवी’

तीन वर्ष अघि अर्थात् २०७८ साउन १८ गते ठूलो जुवा भइरहेको धनगढी–३, बडहरामा प्रहरी टोली पुग्यो। मोटो रकम लिएर जुवाडेलाई प्रहरीले नै फरार बनायो। यो घटनामा प्रहरी विवादमा तानिएपछि नेपाल प्रहरी केन्द्रीय विभागको निर्देशनमा वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा प्रहरी उपरीक्षक दिलीप देउवा र प्रहरी निरीक्षक हिक्मत बोहरा सदस्य रहेको उच्च स्तरीय छानबिन समिति गठन गरियो। उक्त समितिले छानबिन गरेर प्रतिवेदन पनि बुझायो।

यो घटना अघि पनि पटक–पटक प्रहरीले पेशेवर जुवाडेबाट पनि पैसा लिएका खबर नबाहिरिएका होइनन्। प्रहरीको केन्द्रीय विभागको पहलमै गठित उच्च स्तरीय छानबिन समितिको प्रतिवेदनपछि प्रहरीको संरक्षणमा बाह्रै महिना जुवातास हुने क्रम रोकिने आशा आम नागरिकले गरेका थिए। तर, महिनावारी रुपमा मोटो रकम असुलेर व्यवसायीक रुपमा हुने जुवा तासलाई प्रहरीले संरक्षण गर्न छाडेन।

प्रहरीमाथि जुवालाई संरक्षण गरेको आरोप लागिरहेका बेला गत आइतबार मध्यरातमा ठुलै योजना बनाई सुरक्षा निकायका प्रमुखसहित दलबल लगेर कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र आफै पुग्नु परेको घटनाले जुवा संरक्षणमा प्रहरीको संलग्नतालाई पुष्टि गरेको छ।

कैलालीमा वर्षैभरि जुवा खेलाउने केही पेशेवर जुवाडे अड्डा छन्। लाखौँको जुवा हुने अड्डामा पेशेवर जुवाडेहरू दैनिक धाइरहन्छन्। जुवा खेलाउनेहरूका लागि दसैँ तिहारको अवधि अकूत पैसा असुल्ने मौका बन्छ। प्रहरीलाई महिनावारी दिने यी जुवा अड्डा सञ्चालकहरू दसैँ तिहारका बेला भने ठूलो रकम तथा अन्य जिन्सी सामानहरू उपहार दिने गरेको जानकारहरु बताउँछन्।

दसैँ तिहारको बेला मात्रै जुवा खेल्ने सर्वसाधारणलाई भने प्रहरीले समातेर कडाइ गरेको देखाए पनि यस्ता पेशेवर अड्डालाई प्रहरीले आँखा चिम्लने गर्छ। प्रहरी संरक्षणमा रहेका जुवा अड्डा मध्ये वर्षैभरि जुवा भइरहने धनगढी–५, सहनपुरको एक जुवा घरमा प्रमुख जिल्ला अधिकारी मिश्रले साढे १२ बजे राति छापा हान्न आफै पुग्नु परेको थियो। 

यसरी हानेका थिए सिडिओले छापा!

वर्षैभरि जुवा भइरहने धनगढी–५, हसनपुरस्थित प्रकाश भाटको घरमा प्रहरीले छापा नहान्ने गरेको सूचना कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्र पाउँछन्। प्रमुख जिल्ला अधिकारी निकट श्रोतका अनुसार प्रहरीले नै जुवा घरका बारेमा थाहा पाउँदा पाउँदै पनि छापा नहान्ने गरेको कुरालाई उनले गम्भीर रुपमा लिन्छन्।

आइतबार राति नै प्रजिअ मिश्रले कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्ट, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक दलबहादुर पाण्डे र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखलाई जिल्ला प्रशासनमा बोलाउँछन्। स्रोतका अनुसार केका लागि बोलाएको भनेर नखुलाएका प्रजिअ मिश्रले सबै जना जम्मा भएपछि मात्रै आफ्नो योजना सुनाउँछन्।

मध्य राति ठुलै आपराधिक स्थलमा जाने तयारीझैँ प्रजिअले विषय नखुलाई सुरक्षा निकायका प्रमुखलाई कार्यालयमा बोलाएका थिए। मध्य राति जुवा अड्डा पत्ता लगाएर प्रजिअ मिश्र तीन वटै सुरक्षा निकायका प्रमुखसहितको टोली लगेर भाटको घरमा पुगे। सूचना चुहिएर जुवाडे भाग्न सक्ने कुरालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले जुवा अड्डामा पुगेपछि मात्रै वडाको प्रहरी टोलीलाई मगाए।

मध्यरातमा सुरक्षा निकायको प्रमुखसहितको टोली लगेर प्रमुख जिल्ला अधिकारीले आफै गएर वर्षैभरी जुवा हुने ठाउँमा हानिएको छापालाई यहाँ अर्थपूर्णरुपमा हेरिएको छ। जुवा अड्डाबाट प्रहरीको उच्च स्तरका अधिकारीसम्म मासिकरुपमा मोटो रकम जाने गरेको स्रोत बताउँछ। ‘प्रहरीकै संरक्षणमा त्यहाँ बाह्रै महिना जुवा हुने गर्थ्यो,’ स्रोतले भन्यो,‘त्यो नामुद जुवाडेको जुवा खेल्ने अड्डै हो। मध्यराति सिडिओ आफै  जुवा अड्डामा नपुगेको भए प्रहरीले ती जुवाडेलाई भगाई दिन्थ्यो।’

कैलालीमा सेटिङ मिलाएर बाह्रै महिना जुवा खेलाउने पेशेवर जुवा अड्डा सञ्चालक रहेको स्रोत बताउँछ। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका आ–आफ्नै घुमुवा प्रहरीहरू छन्। ती घुमुवा प्रहरीहरू नै जुवा अड्डामा पैसा उठाउन र सुरक्षा दिन पुग्ने गरेको विश्वस्त स्रोतले बतायो। नागरिक समाजका अगुवा प्रमोद पाठक शान्ति र सुरक्षाको जिम्मा लिएको प्रहरी नै आपराधिक क्रियाकलापमा जोडिनु दुःखद भएको बताउँछन्। ‘यसले प्रहरी सङ्गठनप्रति जनताको विश्वास घट्दै गएको छ,’ उनले भने,‘प्रहरीको कार्यशैली बदलिनु जरुरी छ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोलीले भाटको घरमा जुवा खेलिरहेको अवस्थामा आइतबार राति साढे १२ बजे ११ जनालाई पक्राउ गरेको थियो। प्रहरीले ११ जनाबाट १० गड्डी तास र १ लाख ५३ हजार ३ सय ५० रुपैयाँ बरामद गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी जुवातास हुन नदिन प्रहरीले कडाइ गरेको बताउँछन्। प्रहरीको जुवातास संरक्षणमा संलग्नता भएको पाइए कारबाही गरिने उनले बताए। ‘जुवातासमा कुनै प्रहरीको संलग्नता रहेको पाइएमा कारबाही गरिन्छ,’ उनले भने। 

प्रकाशित: ६ कार्तिक २०८१ १६:२९ मंगलबार

#Kailali Police Office #Juwa #Nepal Police