समाज

महोत्तरीको एक परिवारले जानकी मन्दिरमा पठायो ५१ कोसेली

कोजाग्रत पूर्णिमाको अवसरमा महोत्तरीको एक परिवारले जानकी मन्दिरमा ५१ भार (कोसेली) पठाएको छ। महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली निवासी बरुण कुमार ठाकुरले बिहीबार जानकी मन्दिरमा ५१ कोसेली पठाएका हुन्। 

स्वर्गीय महेन्द्र प्रसाद ठाकुरको तीन नाति कृष्णा कुमार ठाकुर, पवन कुमार ठाकुर र बरुण कुमार ठाकुरले संयुक्त रुपमा चामल, दाल, तरकारी, फलफूल, दही, घिउ र लत्ताकपडासहित ५१ भार जानकी मन्दिरमा पठाएको मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए। 

ठाकुर परिवारले विगत १ सय ७ वर्षदेखि कोजाग्रत पूर्णिमाको अवसरमा प्रत्येक वर्ष जानकी मन्दिरमा विभिन्न परिकारका भार पठाउँदै आएको छ।

स्वर्गीय महेन्द्र प्रसाद ठाकुरले सन्तान प्राप्तिका लागि जानकी मन्दिरमा पूजाआजा गरेपछि उनलाई तीन सन्तान प्राप्त भएको विश्वासका साथ त्यतिबेलादेखि नै कोजग्रा पूर्णिमाका दिन भार पठाउन थालेको महेन्द्रका नाति बरुण बताउँछन्।

‘मेरो हजुरबुवालाई सन्तान भइरहेको थिएन। उहाँ मन्दिरमा पुजाअजा गर्न गइरहनहुन्थ्यो, एक दिन मन्दिरका एक पुजारीले हजुरबुवालाई तिम्रो घरमा तीन छोराको जन्म हुँदैछ भनेर भनेपछि हजुरबुवालाई सन्तान प्राप्त भयो। त्यतिबेलादेखि नै हाम्रो घरबाट जानकी मन्दिरमा भार पठाउन थालिएको हो।’

विजया दशमीको अन्तिम दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ। आज राती माता जानकीको विशेष पूजा अर्चना गरिन्छ। माता जानकीको प्रतिमालाई गर्भ गृहबाट बाहिर निकालेर नाचगान र पूजा गर्ने चलन छ। 

काजाग्रत पूर्णिमामा घटस्थापनाको दिन जम्मा गरेको माटो, उमारेको जमराहरूलाई विधिपूर्वक जलाशयमा सेलाउने गरिन्छ। त्यसैगरी यसै वर्ष विवाह भएको नवजोडीलाई बेहुलाको घरमा बेहुलीको घरबाट कोसेली पठाउने पनि चलन छ।

प्रकाशित: १ कार्तिक २०८१ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App