समाज

बृहत् नेपाल भाषा साहित्य सम्मेलन सकियो

नेपाल भाषा (नेवारी भाषा) को साहित्य सम्मेलन मंगलबार भक्तपुरमा सकिएको छ। जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने उद्घोषका साथ सोमबारदेखि भक्तपुरको कमल विनायकमा सुरु भएको ४४ औँ नेपाल भाषा साहित्य तःमुंज्या (बृहत् सम्मेलन) सकिएको हो।

दुई दिनको सम्मेलनमा हजारौँ सर्वसाधारण सहभागी रहेका थिए। साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ९ स्थित लाँम्हुग (लामगााल) टोलको खुल्ला ठाउँमा भएको थियो। सम्मेलन सोमबार बिहान ११ बजेबाट सुरु भएको थियो।

सम्मेलनमा दर्जनौँ पुराना तथा नयाँ नयाँ साहित्यकार तथा साहित्यप्रेमीहरूले आ–आफ्नो कविता, कथा र निबन्ध वाचन गरेका थिए। बिच–बिचमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले आ–आफ्नो अनुभव र ज्ञानबारे जानकारी दिएका थिए।

यस क्रममा पहिलो दिन सोमबार साहित्यकार मोहन दुवाल, हरिहर तिमल्सिना, पूर्व न्यायाधीश गौरीबहादुर कार्की, इन्जिनियर रामविन्दु श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, संस्कृतिविद् एवं प्राध्यापक सुदर्शनराज तिवारी, जनकवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षण अभियानकर्ता भागवतनरसिंह प्रधान, कवि प्राडा रामप्रसाद ज्ञवाली, गीतकार एवं कवि नारायणकुमार आचार्य, मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजू, ज्योतिषशाश्त्री वीरेन्द्र कायष्ठ, इतिहास एवं नियात्राकार देवीचन्द्र श्रेष्ठ, कवि अनिल पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूले आआफ्नो क्षेत्रका विषयमा जानकारी गराएका थिए। साथै उनीहरुले पनि आगन्तुक साहित्यका रुपमा आआफ्नो साहित्य वाचन गरेका थिए।

दोश्रो तथा अन्तिम दिन मंगलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, संघीय सांसद प्रेम सुवाल, डा शम्भु पहाडी, डा सरोज धिताल, डा स्त्री तथा प्रसुतिसेवा विशेषज्ञ डा सानुमैयाँं श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, साहित्यकार, पत्रकारलगायतले पनि आआफ्नो विचार राखेका थिए।

कार्यक्रमको क्रममा जनकवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षणमा निरन्तर लागिपरेका भागवत नरसिंह प्रधान, शिक्षा सेवी मोहनप्रसाद प्रजापति, समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान कार्यकर्ता ललित अवाल, पुराना सफाइ मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकी पनि सम्मानित गरिएको थियो।

तःमुंज्याले समाज, देश र जनताको निम्ति महत्त्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्दै आएकोमा यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले जनाए। सबै जनजाति, संस्कृति, भाषा र साहित्यको उत्थान गरी आमूल परिवर्तनको निम्ति आवाज उठाउँदै आएको तःमुंज्या यो वर्ष पनि असोज २८ र २९ गते चलेको थियो। यो दुई दिनको क्रममा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भएको थियो।

द्वादशी र त्रयोदशीका दुई दिन भएको सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष वरिष्ठ राजनीतिज्ञ एवं मार्क्सवादी साहित्यकार नारायणमान बिजुक्छे (रोहित) को समुपस्थिस्तिमा भएको थियो। सम्मेलनको उद्घाटन स्थानीय सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैँडाले गरेका थिए।

प्रकाशित: २९ आश्विन २०८१ १८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App