समाज

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ। वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गतअन्नपूर्ण–५ घोप्टेखर्कमा गत साउनमा पहिराले भत्काएको सडक मर्मत नहुँदा पर्यटक आगमन घटेको हो । पर्यटक आगमनको याम प्रारम्भ भइसक्दा पनि सडक मर्मत नहुँदा  घोडेपानीका होटल व्यवसायी चिन्तित भएका छन्।

“विगतका वर्षमा दशै लगत्तै छुट्टी मनाउन बस चढेर आउने आन्तरिक पर्यटकले घोडेपानीका होटलहरु भरिभराउ हुन्थ्ये,” उनले भने “कास्कीबाट पदयात्रा गरेर आउने पर्यटक मात्रै छन् । घोडेपानी पर्यटकीय याममा पनि सुनसान छ।”

घोप्टेखर्कमा १० मिटर सडक भत्किएपछि मोटरसाइकल बाहेक अन्य सवारी साधन ठप्प छन्। अठार  किलोमिटर लामो पोखरेबगर–चित्रे सडक खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालयले  ३० करोडको लागतमा  कालोपत्र गरिएको थियो।

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्‍याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक मर्मत गरेको बताए।

लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएको ठाउँमा हलुका सवारी साधन सञ्चालन हुनेगरी स्थानीय स्रोतबाट मर्मत गरिएको वडाध्यक्ष खड्काले बताए ।  

प्रकाशित: २९ आश्विन २०८१ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App