समाज

अग्ला १४ हिमालमा ‘निम्स’ को हाफ सञ्चुरी

कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने पहिलो आरोही बनेका छन्।

हिमाल आरोहणको १२ वर्षको अवधिमा पूर्जाले विश्वकै अग्लो सगरमाथासहित नेपालमा रहेका ८ र पाकिस्तान र चीनमा गरी १४ वटा अग्ला हिमालमा हाफ सेञ्चुरी अर्थात् ५० अंक कटाएर अर्को कीर्तिमानी कायम गरेका हुन्।

१६ वर्ष बेलायती सेनामा काम गरेका निम्सले वि.सं. २०६९ पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए भने सोह वर्ष पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए।

२९ वर्षमा आरोहण गरेपछि बेलायती सेनासहितको टोलीले गरेको सगरमाथा आरोहणको नेतृत्त्व पनि उनले गरेका थिए। अतिरिक्त अक्सिजनको प्रयोग नगरी गत शुक्रबार नेपाली समय दिउँसो १ः५५ बजे तिब्वतमा रहेको शिशापाङ्माको आरोहण गरी साढे दुई वर्षमा बोतलमा रहेको अक्सिजनविना सबैभन्दा छिटो ८ हजार मिटर अग्ला सबै हिमालको आरोहण गरेका नयाँ रेकर्ड कायम गरेका आरोही पूर्जाले पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ किर्तिमानी राखेका छन्।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरी हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको समेत पटकपटक आरोहण गरेका छन्।

सन् २००३ मा पोखरास्थित ब्रिटिश क्याम्पमा ब्रिटिश आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए। कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए। क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए।

उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। यो सम्मान पाउने उनी पहिलो हुन्। उनले हिमाल आरोहणबाट दर्जनको हाराहारीमा उच्च सम्मान समेत पाएका छन्।

‘अब आरोहीले एउटा अग्लो हिमाल होइन संसारभरीका १४ वटै आरोहण गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छु, मैले रेर्कडका लागि नभई हिमालको पहिचान स्थापित गर्न यो क्षेत्रमा लागेको छु’ आरोही पूर्जाले इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपमार्फतको कुराकानीमा भने।  

उनले नेपालमा रहेका हिमालहरूको प्रचारप्रसार गरी विश्वभरबाट आरोहण र घुम्न नेपाल आउने वातावरण बनेको बताए। विश्वभरबाट प्रख्यात र राजकीय सम्मान प्राप्त ब्यक्तिहरूलाई समेत चुचुरोमा पु¥याउने गरेका आरोही पूर्जाले सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुको आरोहण समेत दुर्लभ दुर्लभ कीर्तिमानी छ।

उनले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ आरोहण अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेको छैनन्।

इलाइट एक्सपिडका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार हिमाल आरोहणमा निम्स दाईको मेहनत अनुसारको नतिजा आइरहेको बताए। उनले विश्वका अग्ला शिखरमा निरन्तरको मेहनतका कारण दर्जनौं रेकर्ड बनाएको बताए।

यसैबीच निम्सले  हिमाल क्षेत्रमा अझै थुप्रै योजनाहरू भएको बताउँदै केहीदिनपछि नेपाल फर्किएर थप काम गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए। उनले हिमालमा मृत्युको पखाईमा अलपत्र आरोहीलाई समेत निःशुल्क उद्धार सहित आपतकालिन अवस्थामा सहयोग समेत गर्ने गरेका छन्। 

प्रकाशित: २५ आश्विन २०८१ १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App