समाज

ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको तत्काल कुनै अभाव छैन: ताप्लेजुङ उद्योग वाणिज्य संघ

बाढी र पहिरोका कारण मेची राजमार्गका विभिन्न ठाउँमा रहेको अवरोध अस्थायी रूपमा हटेपछि अब ताप्लेजुङमा तत्कालका लागि दैनिक उपभोग्य वस्तुको कुनै अभाव नरहेको ताप्लेजुङ उद्योग वाणिज्य संघले बताएको छ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले राजमार्गका विभिन्न स्थानको अवरोध हटेसँगै ताप्लेजुङमा उपभोग्य वस्तुहरू भित्रिएको र सवारी आवागमन कायम रहेकाले उपभोग्य वस्तुको कुनै अभाव नरहेको जानकारी दिए।

‘दशैं मनाउने क्रममा सवारी रोकिनेबाहेक अन्य कारणले सवारी आवागमनमा समस्या छैन,थप अवरोध नभए यहाँ उपभोग्य बस्तुको कुनै अभाव हुँदैन’ थापाले भने। खाना पकाउने ग्याँस सिलिण्डर पनि तत्कालका लागि पर्याप्त मात्रामा जिल्लामा भित्रिएको उनले जानकारी दिए।

यस्तै चामल, नुन, तेल र चिनी जस्ता दैनिक उपभोग्य वस्तुहरू समेत तत्कालका लागि अपुग नरहेको थापाले बताए। अहिले ताप्लेजुङ र पाँचथरलाई सडक सम्पर्कले जोड्ने हेंवाखोलामा अस्थायी डाइभर्सन बनाएर मालवाहक सवारी समेत त्यही डाइभर्सनबाट गुडिरहेका छन्। उता पहिरोले सडक छिनाएर अवरुद्ध गरेको पाँचथरको रमिते र इलामको राजदुवाली क्षेत्रमा समेत तत्कालका लागि अस्थायी वैकल्पिक मार्ग खोलिएको छ।

उक्त स्थानबाट समेत सवारी गुड्न थालेपछि मेची राजमार्ग सुचारु भएको छ। हेंवाखोलामा अस्थायी डाइभर्सन बनेको र नावाखोलामा समेत सवारी आवतजावत गर्न कठिन नरहेको अवस्थामा तमोर करिडोरको सडक समेत नियमित भइसकेको छ।

 हेंवाखोला र नावाखोलामा पानीको सतह नबढेको तथा रमिते र राजदुवाली क्षेत्रमा समेत अहिले कायम रहेको अस्थायी वैकल्पिक ट्रयाकमा समस्या नआए पाँचथर र ताप्लेजुङका लागि तत्कालै दैनिक उपभोग्य वस्तुको अभाव नहुने व्यवसायीले ठम्याएका छन्। ताप्लेजुङमा पेट्रोलियम पदार्थ भने अझै सहज भएको छैन।  

प्रकाशित: २५ आश्विन २०८१ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App