समाज

शिवशिखर सहकारी प्रकरण: १९ करोड संकलन गरेर ६६ लाख मात्रै ऋण लगानी

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको सुर्खेत कार्यालयले बचतकर्ताबाट १९ करोडबढी रकम उठाएर ६६ लाख मात्रै ऋण लगानी गरेको पाइएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सुर्खेतको वीरेन्द्रनगरका सात हजार ३९९ बचतकर्ताबाट सहकारीले १९ करोड २० लाख भन्दा धेरै रकम संकलन गरेको छ। सहकारीले जम्मा ६६ लाख ३३ हजार रुपैयाँ मात्रै ऋण लगानी गरेको पाइएको समितिले जनाएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काशीचन्द्र बरालले सहकारीको सम्पत्ति खोजी भइरहेको बताए। सहकारीको वीरेन्द्रनगर कार्यालय र त्योसँगै रहेको सहकारीले सञ्चालन गर्दै आएको गार्डेन मार्टमा रहेका सामाग्रीहरुको मूल्याङ्कन र अन्य सम्पत्तिको खोजी सुरु गरिएको उनले जानकारी दिए।

समितिले केही समयअघि सहकारीले सञ्चालन गर्दै आएको मार्टमा रहेका सामाग्रीहरु लिएर बचत मिलान गर्न आव्हान गरेको थियो। मार्टमा रहेका सामाग्रीहरु लिएर बचत मिलान गरिपाउँ भन्दै जम्मा २३ जनाको मात्रै निवेदन पर्‍यो।

‘सात हजार ३९९ बचतकर्ता मध्ये बचत फिर्ताका लागि एक हजार ५३ जनाको मात्रै माग दावी परेको छ,’ उनले भने, ‘ती मध्ये २३ जनाले मात्रै सामानहरु लिएर बचत हिसाव मिलान गरिपाउँ भनेर नगरपालिकाको सहकारी शाखामा निवेदन दिएका छन्।’

सहकारीले सञ्चालन गरेको मार्टमा खाद्यान्न, मदिराजन्य पदार्थ, फेन्सी सामाग्रीहरु, भाँडावर्तन, जुत्तालगायतका सामाग्रीहरु छन्। खाद्य सामाग्रीहरुको भने उपभोग मिति सकिएको छ।

‘वीरेन्द्रनगर शाखाले सञ्चालन गरेको मार्ट र डेकोरेशन हेर्दा झण्डै एक करोडको स्रोत देखिन्छ,’ उनले भने, ‘बचत रकममा सामान लिएर मिलान गर्न चाहने बचतकर्ताहरुको संख्या थोरै भएकाले के गर्ने भन्ने निर्णय हुँदैछ।’

समितिले गार्डेनको शुभ होटलको पछाडि रहेको गोदाम र सवारी साधनको मूल्याङ्कन गरेको छैन्। ‘गोदमममा के–के सामानहरु छन् भन्ने कुरा खुलेको छैन्, दुई वटा चार पांग्रे सवारी साधन सुर्खेतकै एक पेट्रोल पम्पसँग रहेको जानकारीमा आएको छ,’ उनले भने, ‘ती सवारी साधन र गोदामको अवस्थाका बारेमा जानकारी लिएपछि मात्रै बचत रकममा सामान फिर्ता गर्ने विषयमा निर्णय हुन्छ।’

उनले गार्डेनमा मौज्दात रहेका सामानहरु लिएर बचत रकममा मिलान गर्न चाहनेहरुका लागि पुनः सुचना निकाल्ने सोच बनाइएको बताए।

‘पहिलोपटक सुचना निकाल्दा २३ जनाले मात्रै आवेदन दिएकाले फेरि एक पटक अनलाइनमार्फत निवेदन माग गर्ने सोच बनाएका छौं,’ उनले भने।

यस्तै, पूर्वी सुर्खेतको मेहलकुनामा रहेको शाखा कार्यालयमार्फत शिवशिखर सहकारीले पाँच करोड बचत संकलन गरेको थियो। पाँच करोड संकलन गरेको सहकारीले जम्मा १२ लाख २२ हजार रुपैयाँ मात्रै ऋण लगानी गरेको पाइएको छ।

प्रकाशित: १९ आश्विन २०८१ १७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App