समाज

मेची राजमार्गको विकल्प: सिमलगोलाई–जोगमाई–तिल्केनी

बारम्बार पहिरो गइरहेको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड। तस्बिर: नागरिक

करोडौँ रुपैयाँ खर्चिँदा पनि गुणस्तर सुधार हुन नसकेको मेची राजमार्गको इलाम नगरपालिका ९ मा पर्ने राजदुवाली–गोलाखर्क खण्डको अब विकल्प प्रयोग गरिने भएको छ।

शुक्रबार बसेको विपद् व्यवस्थापन समिति बैठकले इलाम नगरपालिका–१०, गोदकको सिमल गोलाईबाट इलाम बजारछेउ तिल्केनी जोड्ने वैकल्पिक सडक प्रयोगमा ल्याउने निर्णय गरेको हो।

बैठकले यो वैकल्पिक सडक सुधार्न र बिचमा पर्ने जोगमाई खोलामा यथाशीघ्र बेलिब्रिज हाल्न पनि सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको छ। समिति अध्यक्ष तथा सिडिओ कल्पना श्रेष्ठले दसैँअघि नै यो सडकमा सवारीका साधन सहज रूपमा चल्ने बनाउन निर्देशन दिइएको बताइन्।

‘मेची राजमार्गमा धेरै पटक मर्मत गर्दा पनि सुधारेर सडक सहज बनाउन सकिएन, प्राविधिक र स्थानीय सरोकारवालाको सल्लाहअनुसार यसको विकल्प प्रयोग गर्ने निर्णय भयो,’ उनले भनिन्, ‘दसैँअघि नै यो वैकल्पिक सडक प्रयोग गर्न सकिने गरी सबै उपाय लगाउने निर्णय भएको छ।’ अहिले यो वैकल्पिक सडक कच्ची छ। यसमा हिउँदमा सहज ढंगले सवारीका साधन चल्ने गरेका छन्। तर, बर्खामा केही ठाउँमा सुधार्नुपर्ने अवस्था छ। भर्खरै यो सडक निरीक्षण गरेका जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जोगमाई खोलामा अहिले सवारीका साधन पार हुन नसक्ने अवस्था रहेको बताए।

‘धेरै त बिग्रिएको छैन तर अहिले यो वैकल्पिक सडकमा सवारी साधन चल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘मर्मत गर्न केही दिन लाग्छ। जोगमाई खोलामा रहेको कल्भर्टले काम गर्छ या गर्दैन हेर्नुपर्छ, गर्दैन भने बेलिब्रिज हाल्नुपर्ने देखिन्छ।’ उनले सडकका अन्य खण्डमा पनि सुधार गर्नुपर्ने देखिएको बताए। अहिले सिमल गोलाईबाट इलाम बजार आउन करिब १० किलोमिटर छ । तर, वैकल्पिक सडकबाट करिब ५–७ किलोमिटरमा यो दूरी पार गर्न सकिन्छ।

यो वैकल्पिक सडकका लागि संघीय सरकारले चालु आर्थिक वर्ष एक करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ। प्रतिनिधिसभा सदस्य तथा इलाम नगरपालिकाका पूर्वमेयर महेश बस्नेतले यो वैकल्पिक सडक निर्माणको ठेक्का प्रक्रिया अघि बढेको बताए। ‘हामीले वर्षाैंदेखि यो खण्डको विकल्प खोज्न आवाज उठाएका थियौँ, अब भने यसले गति लिनेछ,’ उनले भने, ‘राजदुवाली–गोलाखर्क खण्डको सडक मात्र होइन, ठूलो क्षेत्रफलको जमिन नै बिस्तारै बगिरहेको भौगर्भिक अध्ययनको रिपोर्टले देखाएको थियो।’

मेची क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मेची राजमार्गको यो खण्ड शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउजाउ गर्ने सवारीका साधन ठप्प भएका छन्। अहिले यो खण्डबाट मोटरसाइकलसमेत वारपार गर्न नसकिने अवस्था भएको छ। असोज ११ देखि परेको पानीले यो खण्ड निकै कमजोर बनाएको थियो। असोज १७ मा आएको पानीले थप क्षति गरेपछि सवारीका साना साधन मात्र चल्दै थिए। तर, शुक्रबार दिउँसोदेखि भने सबै खाले सवारीका साधन गुडाउन नमिल्ने अवस्था भएको इलामकी सिडिओ कल्पना श्रेष्ठले बताइन्।  

प्रकाशित: १८ आश्विन २०८१ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App