समाज

मेची राजमार्ग अवरुद्ध, राजदुवाली–गोलाखर्क खण्डमा पहिरो

पहिरोले चुँडिएको मेची राजमार्गको माइखोला राजदुवाली–गोलाखर्क खण्ड। तस्बिर: नागरिक

निरन्तरको वर्षाका कारण मेची क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध बनेको छ। इलाम नगरपालिका ९ मा पर्ने माइखोलाको राजदुवाली–गोलाखर्क खण्ड शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।

मेची राजमार्ग अवरुद्ध भएपछि झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउजाउ गर्ने सवारीका साधन ठप्प भएका छन्। अहिले यो खण्डबाट मोटरसाइकलसमेत वारपार गर्न नसकिने अवस्था भएको प्रहरीले जनाएको छ। असोज ११ देखि परेको पानीले यो खण्ड निकै कमजोर बनाएको थियो। असोज १७ मा आएको पानीले थप क्षति गरेपछि सवारीका साना साधन मात्र चल्दै थिए। तर, शुक्रबार दिउँसोदेखि भने सबै खाले सवारीका साधन गुडाउन नमिल्ने अवस्था भएको इलामकी सिडिओ कल्पना श्रेष्ठले बताइन्।

शुक्रबार यो खण्डमा मर्मत गर्न थालिएको थियो। तर, माथिबाट पहिरो झरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालयकी इन्जिनियर मनिषा कट्टेलले बताइन्। ‘हामीले शनिबारसम्ममा यहाँबाट सवारी गुडाउन प्रयत्न त गरिरहेकै छौँ,’ उनले भनिन्, ‘तर, पानी परिरहेको छ, यसै भन्न सकिने अवस्था छैन, समस्या अझ बढेर जाने हो कि भन्ने डर पनि छ।’

बिचैमा सडक अवरुद्ध भएपछि यहाँ आइपुगेका सयौँ यात्रु र सवारी साधन अलपत्र परेका छन्। झापातिरबाट आउने सवारी साधन माइखोलामा र इलाम बजारबाट जाने सवारी साधन पहिरोभन्दा माथिपट्टिको सडकमा ताँती लागेका छन्। अहिले झापातिरबाट आएका सवारीले माइखोलाबाट र इलामतिरबाट गएका सवारी साधनले पहिलोभन्दा माथिल्लो क्षेत्रबाट यात्रुलाई सेवा दिँदै छन्। तर, यात्रु करिब पाँच सय मिटर हिँड्नुपर्ने भएकाले सास्ती भएको छ।

करोडौँ रुपैयाँ खर्च बर्सेनि मर्मत गरिरहेपनि यहाँको करिब एक किलोमिटर खण्ड निकै जोखिमपूर्ण बनिरहेको छ। यसको विकल्प खोज्न सबैले दबाब दिएपछि बल्ल जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबारकाे बैठकले वैकल्पिक रूपमा गोदकको सिमलगोलाईबाट जोगमाई खोला हुँदै तिल्केनी जोड्ने सडक सुधारेर काम गर्न सडक कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ। 

प्रकाशित: १८ आश्विन २०८१ १७:०२ शुक्रबार

#Mechi highway