समाज

चाडपर्वको समय इटहरीमा अपराधका घटना बढ्दै

घटना १ः असोज ४ गते १५ लाखभन्दा बढी रकमसहित नक्कली नोटको कारोबार गरेको अभियोगमा इटहरी प्रहरीले दुई जनालाई पक्राउ गर्यो । 

प्रहरीले संखुवासभा पाँचखपन नगरपालिकाका विवेक राई र मकालुका अजय राईलाई पक्राउ गरी मुद्दा चलाएको थियो । पक्राउ पर्नेको साथबाट प्रहरीले नक्कली १५ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ । प्रहरीले तीनवटा मोवाइल पनि नियन्त्रणमा लिएको छ ।

 घटना २ः एक साताअघि इटहरीमै टेकबहादुर बस्नेतले सञ्चालन गरेको सगुन ज्वेलर्सबाट ४५ लाख रुपैयाँ बराबरको सामान चोरी भयो । उक्त चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 घटना ३ः अघिल्लो वर्षको कार्तिक ३ गते बिहान ५ बजेतिर इटहरी वडा नं. ४ का तीन महिलाले मर्निङवाकका क्रममा पैसा र गहनाले भरिएको झोला भेटे । अलपत्र अवस्थामा भेटिएको उक्त झोला भित्र रहेको गरगहनासँगै दुई लाख १६ हजार रुपैयाँ सम्बन्धित धनी भोजपुर सिद्देश्वर वडा नं. ४ की धर्मकुमारी पाण्डे खड्काले बुझेर लगिन् । 

यी माथिका घटना त प्रतिनिधि उदाहरण मात्र हुन् । इटहरी क्षेत्रमा वर्षेनी चाडपर्वमा चोरी, ठगी, लुटपाट, अपराध र झै–झगडाका घटना बढ्ने गरेका छन् । चाडपर्वमा लंगुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य हुने गरेको छ । 

यसैगरी, पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको कारोबार, लागूपदार्थ सेवन गर्ने बढेर पनि शान्ति सुरक्षामा खलल पुग्ने घटनाहरु हुने गरेका छन् । इटहरीमा डिएसपीको दरबन्दीमा इलाका प्रहरी कार्यालय छ । त्यस्तै, इटहरीको जनसंख्या वृद्धिसँगै इलाका प्रहरी कार्यालय पकलीले पनि चारवटा वडा वडाहरु १५, १६, १७ र १८ को शान्ति सुरक्षालाई आफ्नो क्षेत्राधिकारभित्र राखेर हेर्ने गरेको छ । 

इटहरीको तरहरामा नयाँ र पुरानो गरेर दुईवटा, खनार र बालग्राममा स्थायी प्रहरी चौकी छ । पछिल्लो समय सिआरभीसहित अरु थप १२ वटा अस्थायी प्रहरी बिट इटहरी क्षेत्रमा रहेका छन् । अहिले इटहरी मातहात एकसय साठीभन्दा बढी प्रहरीको दरवन्दी छ । इलाका प्रहरी कार्यालयमा भने प्रहरी निरीक्षकको नेतृत्वमा अलग्गै प्रहरीको दरबन्दी रहेको छ । यहाँ पछिल्लो दुई वर्षको तथ्याङ्कलाई हेर्दा २०७९ को तुलनामा २०८० मा दसैंदेखि छठ पर्वसम्म अपराधका घटनामा बृद्धि भएका छन् । 

तथ्याङ्कअनुसार २०८० सालमा लागूऔषधमा बालकसहित छ , चोरीमा बालकसहित २१, बैकिङ् कसुरमा तीन, ज्यान मार्ने उखोगमा पाँच, बाल यौन दुरुपयोगमा एक, नक्कली नोटमा तीन, जर्वरजस्ती करणीमा दुई, सवारी ज्यानमा तीन, जुवातासमा तीन, ठगीमा दुई र विस्फोटक पदार्थ ओसारपसारमा एक जना पक्राउ परेका छन् । 

२०७९ सालमा लागूऔषधमा दुई, चोरीमा आठ, जर्वरजस्ती करणी एक, सवारी ज्यानतीन, जुवातासमा १२ र सवारी अङ्भङ्मा दुई जना पक्राउ परेका छन् । यस्तै, कर्तब्य ज्यान, सहकारी ठगी र नेटवर्किङ् ठगीमा एक–एक जना पक्राउ परेका छन् । 

इटहरीमा २०७९ को तुलनामा २०८० सालको चाडपर्वका बेलामा भएका घटनालाई केलाउँदा अब यस वर्ष सम्भावित अपराधलाई मध्यनजर गरेर प्रहरी, प्रशासन बेलैमा सचेत र जिम्मेवार बन्नुपर्ने देखिन्छ । चाडपर्व लक्षित घटनालाई न्यूनीकरण गर्न योजना बनाइ रहेको भर्खरै सरुवा भएर आएका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

प्रकाशित: १७ आश्विन २०८१ १८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App