समाज

विपद्को घडीमा सरकार जनताको साथमा छ, उद्धारमा कमी आउँदैन: प्रधानमन्त्री

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागि भएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आएको बाढी-पहिरोबाट भएको मानवीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरे। साथै सरकारले उद्धार तथा राहतमा कुनै कमी नगर्ने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले आफू मुलुक बाहिर रहँदा बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको र सयौँ मानिसको मृत्यु भएको उल्लेख गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरे।

"देशमा अकल्पनीय बाढी र पहिरोले सयौं जनताको ज्यान लिएको छ। केही अझै बेपत्ता छन् र सयौँ घाइते भएका छन्। म मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु," प्रधानमन्त्री ओलीले भने।

उनले जनस्तर र सरकारी निकायबाट जारी उद्धार कार्यप्रति धन्यवाद दिँदै सरकार संकटको यो घडीमा जनताको पक्षमा दृढताका साथ खडा रहेको बताए।

अमेरिका भ्रमणको सफलताबारे बोल्दै प्रधानमन्त्री ओलीले ७९औं महासभामा नेपालको महत्वपूर्ण सहभागिता रहेको बताए।

उनले विभिन्न सत्रहरूमा नेपालको प्रतिनिधित्व गर्दै अध्यक्षको हैसियतमा "समिट अफ द फ्युचर" सत्रहरूमा अतिकम विकसित राष्ट्रहरूको समस्या र जलवायु परिवर्तनले नेपालजस्ता हिमाली राष्ट्रहरूमा पार्ने असरबारे अन्तर्राष्ट्रिय मञ्चमा धारणा राखेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले महासभामा नेपालको प्रगति, शान्ति प्रक्रिया, लोकतन्त्रको अभ्यास, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा गहन छलफल गरेको उल्लेख गरे।

साथै, अतिकम विकसित राष्ट्रहरूको लागि विश्वसमुदायबाट आर्थिक तथा प्राविधिक सहयोगको आवश्यकता औँल्याउँदै, गरिबी र असमानता घटाउन सहयोग गर्न अपिल गरे।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससहित विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटघाटका क्रममा नेपालको शान्ति प्रक्रिया र आर्थिक विकासमा भइरहेको प्रगतिबारे छलफल भएको जानकारी पनि दिए।

प्रकाशित: १४ आश्विन २०८१ १७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App