समाज

ठप्प दक्षिण ललितपुर

तस्बिर सौजन्य: कोन्ज्योसोम गाउँपालिका

तीन दिनको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा क्षति पु¥याएको छ। सबैभन्दा बढी क्षति दक्षिण ललितपुरमा भएको छ। यतिबेला दक्षिण ललितपुर अन्धकारमय छ। दक्षिण ललितपुरमा सञ्चार, बिजुली, सडक सबै अवरूद्ध छन्। यसले गर्दा उद्धार र राहतमा कठिनाइ भएको छ। यस क्षेत्रका तीन पालिकाको जनजीवन अस्तव्यस्त बनेको छ। महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा ठुलो क्षति पुगेको स्थानीयले बताएका छन्।

दक्षिण ललितपुरमा बाढी–पहिरोले भौतिक संरचना बगाउनुका साथै मानवीय क्षति पनि गरेको गोदावरी नगरपालिका– ६ का अध्यक्ष विष्णुमान महर्जनले बताए। खोलाहरू उर्लंदा स्कुल, प्रहरी चौकी र मठमन्दिरमा पनि क्षति भएको छ। ‘यहाँका सडक सबै बन्द छन्,’ महर्जनले भने, ‘चापागाउँबाट टीकाभैरव जाने कुनै बाटो तहसनहस भएको छ।’

‘यहाँ २०३८ सालमा ठुलो बाढी आएको भन्थे, त्यसको बाजे आयो ८१ सालमा,’ महर्जनले भने, ‘‘सबै तहसनहस भयो। के गर्नु ? प्रकृतिको विनासलाई रोक्न नसकिने रहेछ। टीकाभैरव मन्दिर सबै बगायो बाढीले। हामी हेरेको हेरै भयौं। अन्य भौतिक संरचना पनि बाढीसँगै बगे। मानविय क्षति पनि भयो। टीकाभैरव आसपासमै ७/८ जनाको गयो। दक्षिण ललितपुरका भित्र भेगतिर झन् धेरै नाजुक अवस्था छ। बिजुली, सञ्चार केही छैन।’

दक्षिण ललितपुरका गाउँपालिका जोड्ने अधिकांश बाटा अवरूद्ध छन्। खोलाको बाढी बस्ती छिरेपछि धेरै भौतिक क्षति भएको वडाध्यक्ष महर्जनले बताए।

सन्तोष खड्काले वैदेशिक रोजगारीमा गएर पसिनाको धारा बगाएर कमाएको पैसाले बनाएको घर पनि बाढीले बगाएको छ। ‘यति धेरै दुख गरेर बनाएको घर पनि रहेन। हे भगवान् तिमी कति निर्दयी,’ सामाजिक सञ्जालमार्फत सन्तोषले भनेका छन्। उनी त एक पात्र मात्रै हुन्। उनी जस्ता सयौंले घरबार गुमाएका छन्।

गोदावरी नगरपालिका–६ टीकाभैरवमा आइतबार बिहान पहिरोले घर भत्कायो। घरमा पुरिएका ५० वर्षीय भाइकृष्ण खड्काको शव दिउँसो ३ बजेतिर निकालियो। त्यस्तै टीकाभैरवकै ५५ वर्षीय प्रलाद थापा र ३० वर्षीय सुमन थापाको पनि मृत्यु भएको छ।

शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा धेरै वर्षा भयो। सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको वर्षा मापन स्टेसनले देखाएको छ। जहाँ२४ घण्टाको अवधिमा ३ सय २३ मिलिमिटर वर्षा भएको छ। यसअघि सन् २००२ मा यहाँ २ सय मिलिमिटर वर्षा भएको रेकर्ड छ।

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता नरहरी अधिकारीका अनुसार ललितपुरमा बाढीपहिरोका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ भने १० जना सम्पर्कविहीन छन्। उनले भने, ‘मृतकको संख्या अझै बढ्ने अनुमान छ।’

त्यस्तै दक्षिण ललितपुरकै गोटीखेलमा बजारको अवशेष पनि छैन। त्यहाँ धामीखोलाको बाढीले हिलसाइड बोर्डिङ स्कुल, प्रहरी चौकी, वैतरणी धामलगायत संरचना बगाएको छ। सडक पनि क्षतिग्रस्त छन्। गोटीखेल नजिकै रहेको ठोट्ने खोलाले पनि केही घर बगाएको छ। बाढी–पहिरोले गोटीखेलका भौतिक संरचनामा व्यापक क्षति पु¥याएको गोदावरी नगरपालिका–६ का अध्यक्ष महर्जनले बताए।

महर्जनका अनुसार मकवानपुर, काठमाडौं जोड्ने कान्ति लोकपथको पुल बाढीले बगाएको र विभिन्न ठाउँमा पहिरो गएकाले आवागमन अवरूद्ध छ। प्युटार, आस्राङ, गिम्दी आसपासका बस्तीका केही घर पनि बाढीले बगाएको खबर आएको उनले बताए।

‘कहींकतै सम्पर्क छैन। कुनै बेला फोन लाग्छ, आवाज राम्रोसँग सुनिँदैन्, कुनै बेला लाग्दैन’ उनले भने, ‘कहाँकहाँ के कति क्षेति भएको छ, यकिन विवरण प्राप्त हुन सकेको छैन्। सडक सञ्जाल चक्नाचुर हुँदा उद्धार र राहतमा समस्या भएको छ।’

ललितपुरका विभिन्न भूभागमा बाँसको झ्याङैसमेत उखेल्नेगरी आएको बाढीले आसपासका बस्तीलाई क्षति गरेको हो। कतिपय स्थानमा जथाभावी संरचना बनाउँदा खोलाको प्राकृतिक मार्ग अवरूद्ध भएको छ।

प्रकाशित: १४ आश्विन २०८१ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App