समाज

आठ घन्टा लगाएर कोशी ब्यारेजको पुल सफा, यातायात सुचारु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा यातायात सुचारु गरिएको छ।

कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आइतवार साँझबाट आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए।

कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उनले बताए।

मग्रातीले भने, ‘कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो। आइतवार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतवार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ।’

कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो। सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ।

कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ। कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार कोशीमा पानीको प्रवाह घट्दै गएको छ भने अहिले ४० वटा ढोका खुला रहेका छन्।

पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिवार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो। रासस

प्रकाशित: १४ आश्विन २०८१ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App