समाज

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले अवरुद्ध बनेको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड। तस्बिर: नेपाल प्रहरी।

बुधबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले पहिरो जाँदा मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्ग अवरुद्ध भएको छ।

इलाम नगरपालिकाको माइखोलास्थित राजदुवाली–गोलाखर्क खण्डमा पहिरो र माथिल्लोपट्टिको पर्खाल झरेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यो खण्ड लामो समयदेखि जोखिमयुक्त छ। करोडौं रुपैयाँ खर्च भएपनि मर्मत दीर्घकालीन हुन नसेकेको यही ठाउँमा पुनः जोखिम बढेको हो।

माथिबाट झर्ने पहिरो र राजमार्ग चुँडिएर जाने समस्या भएपछि प्रशासनले गए राति १० बजेदेखि अघि बिहान ३ बजेसम्म यो खण्ड भएर सवारीका साधन चल्न रोक लगाएको थियो। तर, बिहानै साढे ३ बजेतिर माथिपट्टिको पर्खाल राजमार्गमै झरेपछि सवारीका साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। योसँगै जिल्लाका दर्जनौं सडक पहिरोले अवरुद्ध भएका छन्।

राजमार्ग अवरुद्ध भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापा आउ–जाउ गर्ने सवारीका साधन ठप्प भएका छन्। करिब तीन किलोमिटरका दर्जन ठाउँमा यो राजमार्ग धस्सिएको छ।

यो खण्डको विकल्प खोज्न चौतर्फी दबाब बढेपनि काम हुन सकेको छैन। उपयुक्त विकल्प अभावमा मेची राजमार्गको यो खण्डमा सवारीका साधनले करिब दशकयता सास्ती खेपिरहेका छन्।

प्रकाशित: १२ आश्विन २०८१ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App