समाज

२०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने कोसी सरकारको घोषणा

फोटो :  पर्यटन वर्ष घोषणा कार्यक्रम उद्घाटन गर्दै कोसी प्रदेशका  मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्बिर/नागरिक

 कोसी प्रदेशमा आगामी वर्ष २०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ मनाउने  कोसी प्रदेश सरकारले औपचारिक घोषणा  गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा कोसी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले  पर्यटन क्षेत्रलाई कोसी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने उद्देश्य राखेर पर्यटन वर्ष बनाउन लागिएको जानकारी दिए । मुख्यमन्त्री कार्कीले भारत र चीनबाट मात्रै पर्यटक भित्राउन सके पनि ठुलो उपलब्धि हासिल हुने बताए  । कार्कीले भने‘पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनको विकासका माध्यमबाट समृद्धिको आधार खोज्ने प्रयास सरकारले गर्ने छ ।’ कोसी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभई विश्वकै उत्कृष्ट गन्तव्य भएको उनको भनाइ छ । यद्यपि, यथोचित प्रचारप्रसार र गन्तव्यहरूको प्रवर्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल नभएको मुख्यमन्त्री कार्कीले बताए  । 

कोसी प्रदेशलाई प्राकृतिक, धार्मिक र सांस्कृति पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने मुख्यमन्त्री कार्कीले बताए । कोसीमा विभिन्न हिमशृङ्खलादेखि सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, कोसी टप्पु वन्यजन्तु आरक्षजस्ता प्राकृतिक एवं पाथीभरा, वराहक्षेत्र, रामधुनी, हलेसी जस्ता धार्मिक स्थलहरू रहेका छन् ।  कार्कीले हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ,  प्याराग्लाइडिङ आदि साहसिक पर्यटनमार्फत पर्यटक भित्राउन सकिने बताए । पर्यटनको माध्यमबाट रोजगारी सृजना गर्दै युवाहरूको विदेश पलायन रोक्न सकिने उनको भनाइ छ । तीनै तहको सरकार र निजी क्षेत्रको  सहकार्य, समन्वय र सहयोगमा पर्यटन क्षेत्रका पूर्वाधारको विकास र सुधारमा लाग्ने  कार्कीले प्रतिबद्धता जनाए ।

पर्यटन वर्षका लागि सरकारले कोसी प्रदेशका विभिन्न जिल्लामा रहेका ८२ वटा पर्यटकीय स्थलहरूको   पर्यटकीय गन्तव्य सूची पनि तयार गरेको छ । नेपालकै होचो क्षेत्र झापाको केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा कोसी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोसी प्रदेशमै छन् । कोसी प्रदेश सरकारले पर्यटन वर्ष मनाउन चालु आर्थिक वर्षको बजेटमा  १० करोड बजेट रुपैयाँ बजेट पनि  विनियोजन गरेको थियो ।  पर्यटन वर्षका लागि दक्षिणी  नाकाबाट प्रवेश गर्ने पर्यटकको सवारीमा स्टिकर टास्ने र स्टिकर टाँसेपछि सडक यात्रामा थप चेकजाँच नगर्ने सरकारको तयारी छ ।  भारतबाट आउने पर्यटकका सवारीसाधनहरूलाई राजमार्गमा जथाभाबी चेकजाँचका नाममा दुःख दिने गरेको पर्यटन व्यवसायीहरूले गुनासो गर्दै आएका थिए । कोसी प्रदेशका पर्यटकीय उपजको प्रचारप्रसार र प्रवर्धन गर्दै पर्यटक आगमनमा वृद्धि गरी पर्यटन क्षेत्रलाई चलायमान बनाएर कोसी प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ ।

प्रकाशित: ११ आश्विन २०८१ २०:१५ शुक्रबार

#Tourism year #Kosi Tourism Year