समाज

सडक सुरक्षा र महँगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

सत्तारुढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरू मनाउँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पु¥याउन सरकारको ध्यानाकर्षण गराएको हो ।

 चाडपर्वहरूमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ । नेकपा एमालेको तर्फबाट केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरूबारे घचघच्याएकोमा खुसी प्रकट गरे । उनले सरकारको तर्फबाट नागरिकलाई सेवा पु¥याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताए ।

ज्ञापन पत्र बुझाउने क्रममा नेकपा एमालेका नेता एवं केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले नेपाली जनताका महान् पर्वहरू विजया दशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरू धमाधम आइरहेको भन्दै जनताले धूमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । दसैं र तिहारमा सङ्घीय राजधानी काठमाडौंबाट र देशका मुख्य सहरहरूबाट अत्याधिक रुपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गरे । यातायातको साधन अभाव हुन नदिन वैकल्पिक उपायको समेत बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए । सुरक्षा प्रबन्धको निम्ति ठाउँ ठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गर्न पनि माग गरे ।

एमालेले चाडबाड मनाउन गाउँ फर्किनेहरूका लागि यातायातको सहज व्यवस्थापन गर्न,  सडकका होटलहरुमा पाइने खाना खाजाहरू स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरूमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रण गर्न  तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरू देशभर जनपहुँचका ठाउँहरूमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित: ११ आश्विन २०८१ १८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App