समाज

बाढीले विराटनगर डुबानमा (तस्बिरहरू)

बुधबार राती देखिको अविरल वर्षाका कारण विराटनगर डुबानमा परेको छ। विराटनगरका विभिन्न वडाहरूमा बस्ती डुबानमा परेका हुन्। सडकमा वर्षाको बाढी पसेर आवतजावतमा समेत अवरोध पु¥याएको छ।

विराटनगर–५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले आफ्नो वडामा सडक तथा घर–बस्तीहरू डुबानमा परेको जानकारी दिएका छन्। उनले पुराना घरहरू र गहिरो स्थानमा भएका बस्ती डुबानमा परे पनि मानिसहरू विस्थापित भएको जानकारी वडामा नआएको बताए।

विराटनगर लगायत मोरङ जिल्ला भर नै बुधबार राती देखि निरन्तर मौसमी वर्षा भइरहेको छ। मौसमी वर्षाका कारण खोलाहरूमा जल सतह बढेको छ भने बस्तीमासमेत बाढी पसेको छ। जिल्लाका विभिन्न स्थानमा पसाएको र काट्ने वेला भएका धान खेतिलाई समेत हावासहितको वर्षाले क्षति पु¥याएको किसानहरूले बताएका छन्।

यता जिल्ला प्रहरी कार्यालय मोरङले भने वर्षाका कारण जिल्लाका  विभिन्न ठाउँमा डुबान भए पनि शुक्रबार दिउँसो सम्म वर्षाले कुनै क्षति गरेको जानकारी कार्यालयमा नआएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कतै पनि विस्थापित भएको र वर्षाले क्षति पु¥याएको जानकारी कार्यालयमा उपलब्ध भएको छैन।

तर, निरन्तर वर्षा भइरहेको र थप वर्षा हुने जल तथा मौसम विभागले जनाएको हूँदा प्रहरीकार्यालयका सबै युनिटहरूलाई उद्दार तथा राहतका लागि अलर्ट राखिएको बस्नेतले बताए। उनले भने‘वर्षा भइरहेको र अझै हुने संभावनालाई मध्यनजर गरेर हाम्रा सबै युनिटलाई अलर्ट अवस्थामा  राखेका छौं।’

यसैबिच जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङका विभिन्न स्थानमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। सुनसरी र मोरङमा अधिकांश खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गर्दै मोबाइलमा एस्एमएस् पठाएको छ। 

प्रकाशित: ११ आश्विन २०८१ १७:२३ शुक्रबार

#Biratnagar duban