समाज

ताप्लेजुङमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सुरु

ताप्लेजुङमा मंगलबारबाट स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ । वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय, ताप्लेजुङ जिल्ला अस्पताल, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र र जिल्ला भरका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुको प्रगति समीक्षा हुने आयोजक स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिए ।  

कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला अस्पताल समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले समीक्षा कार्यक्रमले ताप्लेजुङको स्वास्थ्यको अवस्था, आगामी दिनमा सरोकारवालाबाट निर्वाह गर्नुपर्ने थप भूमिका र स्वास्थ्य क्षेत्रमा सुधारका गर्नुपर्ने विषयसमेतको पहिचान हुने विश्वास लिए ।  

कार्यक्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख पौडेलले जिल्लाको समष्टिगत स्वास्थ्य अवस्थाको विश्लेषण गरेका थिए भने मासिक तथा वार्षिक प्रतिवेदन र प्रविष्टीमा भइरहेको समस्या तथा सुधारका क्षेत्र समेतको चर्चा गरेका थिए ।  

कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगर, जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गम्भिर झा समेतले आ–आफ्नो निकायको वार्षिक प्रगति प्रतिवेदनको समीक्षा गर्नेछन् । पालिका स्वास्थ्य शाखाका प्रतिनिधिहरुले पनि क्रमशः प्रस्तुति दिनेछन् ।  

जिल्लागत वार्षिक समीक्षाका क्रममा पृष्ठपोषणसहित प्राप्त भएका नतिजा प्रदेश स्तरीय समीक्षाका क्रममा प्रस्तुत हुने भएको छ । कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका तथ्याङ्क अधिकृत मुकुन्द दाहाल, स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत भावना दुलाल तथा तथ्याङ्क सुपरभाइजर सूर्यमान बिष्टले वार्षिक समीक्षाका विषयको टिपोट र आगामी दिनमा गरिने नियमित प्रतिबेदन तयारीका बिभिन्न आयमबारे प्रष्ट्याउने भएका छन् । 

प्रकाशित: ८ आश्विन २०८१ १६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App