समाज

भारी परिमाणको लागू औषधसहित ३ युवा पक्राउ

उदयपुर– उदयपुर प्रहरीले भारी परिमाणको लागूऔषधसहित बुधबार ३ युवालाई नियन्त्रणमा लिएको छ। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्तास्थित प्रहरी चौकीनजिकै चेकजाँचको क्रममा झण्डै हजार एम्पुल लागूऔषधसहित स्थानीय युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

गाईघाट–कदमाहा सडकखण्डको प्रहरी चौकी लालपत्तानजिक सादा पोसाकमा खटिएका प्रहरीले चेकजाँच गर्दा ८ सय ९७ एम्पुल अवैध लागूऔषध र ३ सय थान प्रतिबन्धित नोईट्रोभेट ट्याब्लेटसहित युवाहरु पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ लालपत्ताका २० वर्षीय अनिश खड्का, २१ वर्षीय सन्जिव खड्का र २३ वर्षीय प्रकाश खड्का रहेका छन्।

लाहानबाट गाईघाटतर्फ तिब्रगतिमा हुँईकिदै आईरहेको स ६ प २०७६ नम्बरको मोटरसाईकलमा ३ जना सवार भई अनियन्त्रित कुदाएको देखेर शंका लागी रोकेर खानतलासी लिँदा उनीहरु लागूऔषधसहित फेला परेर पक्राउ गरिएको एसपी भट्टले बताए। उनीहरुको साथबाट डाईजोल्याप ३ सय एम्पुल, फेनरागन २ सय ९८ र नुफिन २ सय ९९ थान एम्पुल बरामद भएको छ। त्यस्तै ३ सय थान नाईट्रोभेट नामक प्रतिबन्धित ट्याब्लेट पनि बरामद भएको प्रहरीले जनाएको छ। 

उनीहरुको साथबाट बरामद लागू औषधको परिमाण अहिलेसम्मकै ठूलो भएको एसपी भट्टले बताए। ‘म यहाँ आएपछि धेरैपटक लागूऔषधसहित युवाहरु पक्राउ परिसकेँ’ बुधबार साँझ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टले भने ‘तर, अहिलेसम्म यति ठूलो परिमाणको लागूऔषध यो पहिलो पटक हो।’ लागूऔषधिविरुद्ध प्रहरीले थालेको ‘विग अप्रेशन’ अभियान अन्तर्गत यो अहिलेसम्मको सबभन्दा ठूलो सफलता भएको पनि उनले बताए। 

एसपी भट्टले २०७४ साउन २६ गते जिल्ला प्रहरी प्रमुख भएर आएयता लागू औषधविरुद्ध अभियान चलाउँदा हालसम्म १ सय ३२ जनालाई लागू औषधसहित प्रमाण साथ पक्राउ गरी कारवाही गरेको उनले जानकारी दिए। पक्राउमध्ये ७१ वटा घट्नाबारे मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको र बाँकीलाई दण्ड जरिवाना र नसिहत दिएर छाडिएको उनले बताए। 

पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार यसअघि पनि फेनारगन २ सय २०, डाईजेल्याव २ सय १८, लुपिजेसिक २ सय १४, नाईट्रोजन २ सय २६ पिस र स्पास्मो प्रक्सीवन १ सय २८ पिस बरामद गरिसकिएको थियो। प्रहरीले उदयपुर र सुनसरीको सीमास्थल श्रीलङ्का टापुस्थित २ कठ्ठा जग्गामा लगाएको अफिम खेती पनि नष्ट गरिएको सम्मेलनमा जानकारी गरायो। गएको भदौयता प्रहरीले गाँजा ५ किलो १ सय ४५ ग्राम पनि बरामद गरेको जानकारी दिइयो।

प्रकाशित: २१ चैत्र २०७४ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App