समाज

राजधानीमा ‘नेपाल एडभेन्चर एक्स्पो’ हुँदै

साहसिक पर्यटनको प्रवर्द्धन र प्रचारप्रसारलाई लक्षित गर्दै ‘नेपाल एडभेन्चर एक्स्पो’ आयोजना हुने भएको छ।

एआर भेन्चर्सले आयोजना गर्न लागेको यस एक्स्पोले नेपालको प्राकृतिक, सांस्कृतिक र भौगोलिक सौन्दर्यलाई प्रवर्द्धन गर्दै पदयात्रा, हिमाल आरोहण र अन्य साहसिक पर्यटकीय गतिविधिहरूलाई विशेष प्राथमिकतामा राख्ने आयोजक सोनाम जाङ्बु शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार नेपालीलाई साहसिक पर्यटनमा सहभागी गराउने लक्ष्यसहित दोस्रोपटक एक्स्पो हुन लगेको हो। एक्स्पोले स्वदेशी तथा विदेशी ब्रान्डका साहसिक पर्यटन सामग्रीको प्रदर्शनी र बिक्रीको अवसर प्रदान गर्ने उनको भनाइ थियो।

पछिल्लो समय चाडपर्वको छुट्टीको सदुपयोग गर्दै नेपालीहरू आन्तरिक पर्यटनमा सक्रिय हुन थालेकाले एक्स्पोले साहसिक गतिविधिका लागि आवश्यक जानकारी र सामग्री उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक शेर्पाले सुनाए।

‘दसैँ–तिहारको बिदाको समयमा धेरै नेपालीहरू घुमफिर गर्न निस्कने गर्छन्। एक्स्पोमा ग्राहकहरूले आउटडोर गतिविधिहरूको लागि र आफ्नो गन्तव्यलाई सहज बनाउने कपडा अन्य सम्बन्धित सामाग्रीहरू सबै एकै ठाउँमा सहजै पाउँन सक्छन्।’ उनले भने।

एक्स्पोमा करिब ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरू रहनेछन्। जसमा नेपाल ट्रेल सिरिज, काठमाडौं बाइक स्टेसन, लुक्ला आउटडोर, बलुन नेपाल, एपिक माउन्टेन बाइक, द नर्थ फेस लगायतका प्रतिष्ठित ब्रान्डहरू समावेश हुनेछन्।

त्यसैगरी, एक्स्पोले साहसिक पर्यटनका ब्रान्डलाई प्रवर्द्धन गर्ने मात्र नभई, पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरूबाट अनुभवको कथा, यात्राका किस्सा, र साहसिक पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन समेत गर्ने योजना रहेको शेर्पाले जानकारी दिए।

नेपाल पर्यटन बोर्डको सहकार्य रहेको एक्स्पो असोज १२ गते आरण्य बुटिक होटलमा सञ्चालन हुनेछ।

प्रकाशित: ८ आश्विन २०८१ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App